संसदीय समितिमा एनआरएनएको माग- वंशजसरहकै अधिकारसहितको नागरिकता चाहियो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हाल प्रदान गरिँदै आएको गैरआआवासीय नागरिकताले पूर्ण अधिकार सुनिश्चित नगरेको भन्दै नेपाली नागरिकसरहकै अधिकारसहितको नागरिकता दिन जोरदार माग गरेको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा सहभागी एनआरएनएका प्रतिनिधिहरूले यस्तो माग राखेका हुन् ।

उनीहरूले हालको कानुनी व्यवस्थाले दिएको गैरआवासीय नागरिकता व्यवहारमा ‘नाम मात्रको’ भएको र त्यसले अंशबन्डा जस्ता नैसर्गिक अधिकारबाट समेत वञ्चित गराएको भन्दै समितिको गम्भीर ध्यानाकर्षण गराए । छलफलका क्रममा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार सुनिश्चित हुने गरी नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए ।

‘संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको छ, तर व्यवहारमा अंशबन्डा जस्ता सामान्य अधिकारसमेत पाउन सकिएको छैन,’ डा. महतोले भने, ‘यस्तो नाम मात्रको नागरिकताले गैरआवासीय नेपालीलाई देशसँग जोड्न सक्दैन । राजनीतिक अधिकारबाहेक वंशजका नागरिकले पाउने सबै अधिकार हामीलाई पनि चाहियो ।’

गैरआवासीय नेपालीहरूले विदेशी नागरिकता त्यागेर आउनेलाई मात्र नभई दोहोरो नागरिकताको प्रावधान राखेका देशका नेपालीलाई समेत सहज हुने गरी कानुन बनाउन आग्रह गरेका छन् । हालको गैरआवासीय नागरिकताले सम्पत्तिको अधिकार र अंशबन्डा जस्ता विषयमा कानुनी मान्यता नपाउँदा विदेशमा रहेका लाखौँ नेपालीहरू आफ्नो पैतृक सम्पत्तिबाट वञ्चित हुनुपरेको उनीहरूको मुख्य गुनासो छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री