रास्वपा सांसद चन्दा कार्कीद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता देखिएको आरोप लगाउँदै नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेकी हुन् ।

सांसद कार्कीले देशमा मानव तस्करी जस्तो गम्भीर र संगठित अपराधको विषयमा स्वयम् गृहमन्त्रीमाथि आरोप लागिरहेको अवस्थामा १५ दिनका लागि भए पनि पदबाट हटेर अनुसन्धानमा सघाउन माग गरिन् । उनले छानबिनबाट निर्दोष साबित भए पुनः मन्त्री पदमा फर्कन कसैले नरोक्ने समेत बताइन् ।

सांसद कार्कीले भनिन्, ‘हाम्रा माननीय गृहमन्त्रीज्यू रमेश लेखकलाई हामीले सुसंस्कृत र संस्कारवान् राजनीतिकर्मीको रूपमा चिन्छौं । तर अहिले जुन किसिमले मानव तस्करी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको विषय भिजिट भिसा प्रकरणसँग जोडिएर व्यापक रूपमा उठेको छ, यसले गम्भीर प्रश्न जन्माएको छ ।’

उनले थपिन्, ‘हामीले गृहमन्त्रीको कुनै दोष छ भनेका छैनौं, तर नैतिकताको कुरा आफैँबाट सुरु हुनुपर्छ । सुसंस्कृत राजनीतिक अभ्यास गरेको व्यक्तिबाट हामीले त्यही अपेक्षा गर्दछौं । गृहमन्त्रीज्यूले पहिलो दिन नै राजीनामा दिएको भए उहाँको उचाइ अझ ठूलो हुन्थ्यो । अझै पनि हाम्रो अपेक्षा छ, देशमा यति ठूलो मानव तस्करीको काण्ड उठिसकेपछि र सदनमा प्रतिपक्षी दलहरूले निरन्तर विरोध गरिरहेको अवस्थामा माननीय गृहमन्त्रीज्यूले १५ दिनका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नु उपयुक्त हुन्छ । त्यसपछि छानबिनबाट निर्दोष ठहरिएर फर्कन कसैले छेक्दैन ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री