ओली-देउवा र प्रचण्डबीचको छलफलले निचोड नदिएपछि विपक्षी दलले बोलायो बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरू आजको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा अन्तिम रणनीति बनाउन बैठकमा जुट्ने भएका छन् । प्रमुख सचेतक हितराज पाण्डेले विपक्षी दलहरूबीच सहमति जुटाउन निरन्तर संवाद जारी रहेको जानकारी दिए । यद्यपि बैठकको समय तोकिएको छैन ।

माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरुद्ध गर्ने अडान लिएका छन् । जेठ १५ गते सरकारलाई आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिएका विपक्षीहरू आजदेखि बजेटमाथिको छलफल अवरुद्ध गर्ने तयारीमा छन् ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्ने तयारी पनि कार्यसूचीमा समावेश छ ।

सरकार-विपक्षबीच सोमबारको छलफल निष्कर्षविहीन
संसद् अवरुद्धको स्थिति हटाउन सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच त्रिपक्षीय बैठक भएको थियो । बैठकमा संसद् गतिरोध अन्त्यबारे व्यापक छलफल भए पनि गृहमन्त्रीको राजीनामालाई लिएर सहमति जुट्न सकेन ।

विपक्षी मोर्चाभित्रै पनि मतभेद देखिएको छ । माओवादी केन्द्र र रास्वपा गृहमन्त्रीको पदत्यागको मागमा अडिग छन् भने एकीकृत समाजवादी पार्टी भने लेखकलाई सदनमै आफ्नो पक्ष राख्न दिनुपर्ने पक्षमा छ ।

सोमबार प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टै भेटवार्ता गरी यस विषयमा छलफल गरेका थिए । राजनीतिक सहमति नभएकाले आजको बैठक पनि अवरुद्ध हुने प्रबल सम्भावना छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री