बुटवल । सञ्चारिका समूह नेपालकी नवनिर्वाचित केन्द्रीय अध्यक्ष कमला पन्थीले पत्रकार महिलाहरूलाई सङ्गठित गर्दै उनीहरूको व्यावसायिकता अभिवृद्धिमा सघाउने मूल सिद्धान्तमा समूहले काम गरिरहेको बताइन् ।
नवनिर्वाचित भएपश्चात् पहिलो पटक गृह जिल्ला रुपन्देही आएकी अध्यक्ष पन्थीले सोमबार सञ्चारिका समूह रुपन्देही जिल्ला कार्यसमितिसँगको छलफलमा उक्त कुरा बताइन् ।
उनले पत्रकार महिलाहरूको कार्यसम्पादन र उचित पारिश्रमिकको सवालमा समूहले निरन्तर पैरवी गरिरहेको उल्लेख गरिन् । ‘पत्रकार महिलाहरूलाई कुनै पनि समस्या पर्दा सञ्चारिका समूह सबैभन्दा पहिले उनीहरूको पक्षमा उभिनेछ,’ अध्यक्ष पन्थीले प्रतिबद्धता व्यक्त गरिन्, ‘उनले पत्रकार महिलाका साथै सञ्चार माध्यममा कार्यरत अन्य महिला कर्मचारीहरूलाई समेत समेटेर जानु अबको आवश्यकता रहेको समेत बताइन् ।’
कार्यक्रममा समूहकी केन्द्रीय सदस्य कल्पना शर्माले काठमाडौंबाहिर पत्रकार महिलाहरूको सक्रियताका हिसाबले रुपन्देही अग्रपङ्क्तिमा रहेको बताइन् । उनले पत्रकार महिलाको समावेशीकरणको मुद्दालाई राज्यले गम्भीर रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
केन्द्रीय समिति कार्यक्रम संयोजक अञ्जु बरालले पत्रकार महिलाको हकहितमा समर्पित सञ्चारिका समूहको गरिमा र साखलाई जोगाइराख्नुपर्ने आवश्यकता औंल्याइन् ।
सो अवसरमा सञ्चारिका समूह रुपन्देहीकी अध्यक्ष मिना ढकालले केन्द्रीय समितिलाई स्वागत गर्दै जिल्लास्तरका मुद्दाहरूमा ध्यान दिन र केन्द्र तथा जिल्लाबीच निरन्तर संवादको वातावरण सिर्जना गर्न आग्रह गरिन् । शाखा उपाध्यक्ष अस्मिना पाण्डेयले जिल्ला र केन्द्रबीच प्रभावकारी सहकार्य र समन्वय हुनुपर्ने बताइन् ।
रुपन्देही सचिव पूजा पन्थीले जिल्लाअन्तर्गत भएका पछिल्ला कार्यक्रम तथा गतिविधिबारे जानकारी गराउँदै केन्द्रले फेलोसिप जस्ता क्षमता अभिवृद्धिका कार्यक्रमहरू ल्याउन सुझाव दिइन् ।
छलफलमा रुपन्देही शाखाकी कोषाध्यक्ष अम्बिका परियार, कार्यक्रम संयोजक कल्पना डुम्रे तथा कार्यसमिति सदस्यहरू सुनिता चुदाली र कल्पना घिमिरे लगायतको सहभागिता रहेको थियो ।




