मनसुन प्रवेश गरे पनि एक सातासम्म निष्क्रिय, वर्षा कम हुने र गर्मी बढ्ने पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर मिति भन्दा १५ दिन छिटो नेपाल प्रवेश गरे पनि आगामी एक सातासम्म निष्क्रिय रहने जनाएको छ। मनसुन गत बिहीबार राति कोशी प्रदेशको पूर्वी भू–भागबाट प्रवेश गरेको थियो।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार मे २९ मा नेपाल प्रवेश गरेको मनसुन हाल कोशी प्रदेशका अधिकांश क्षेत्रमा फैलिएको भए पनि त्यसको सक्रियता तत्कालका लागि घटेको छ। “सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने हो, तर यसपालि समयभन्दा अघि पूर्वी क्षेत्रबाट भित्रिएको हो,” उनले भने, “तर प्रारम्भिक भारी वर्षापछि अहिले मनसुन निष्क्रिय बन्दै गएको देखिन्छ, जसका कारण आगामी सातादिनसम्म वर्षा न्यून हुने र तापक्रम बढ्ने सम्भावना छ।”

मनसुनको प्रवेशसँगै पूर्वी क्षेत्रमा एकै दिन २०० मिलिमिटरभन्दा बढी वर्षा भई केही क्षेत्रमा बाढी र डुबानको स्थिति देखिएको थियो। विभागका बाढीविद् विनोद पराजुलीका अनुसार यसले नदीहरूको बहावमा तीव्र वृद्धि गराएको थियो।

यद्यपि विभागले यो वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको छ। कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनीको उत्तरी क्षेत्र र गण्डकी प्रदेशको धेरै भू–भागमा ५५ देखि ६५ प्रतिशत सम्भावनाका साथ औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको हो।

मनसुन अवधिभर जनतालाई समयमै जानकारी पुर्‍याउन विभागले सूचना व्यवस्थापनमा थप सक्रियता देखाएको छ। दैनिक बिहान ११ बजे नियमित ‘ब्रिफिङ’का माध्यमबाट जल तथा मौसमसम्बन्धी पूर्वानुमान, सतर्कता र चेतावनी सार्वजनिक गरिने व्यवस्था गरिएको बाढीविद् पराजुलीले बताए। साथै, सरकारी, गैरसरकारी तथा उद्धार निकायहरूसँग पनि प्रत्यक्ष संवाद गर्दै सूचनाको प्रवाहलाई प्रभावकारी बनाइएको छ।

विभागले मौसमसम्बन्धी तत्कालीन जानकारीका लागि टोल–फ्रि नम्बर ११५५ र बाढीसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमार्फत २४ घण्टा सेवा दिइरहेको छ। नागरिकलाई सतर्क रहन र आधिकारिक स्रोतबाट सूचना प्राप्त गर्न विभागले अनुरोध गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री