काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले वर्तमान गणतान्त्रिक व्यवस्था र यसका विकृतिहरूमाथि कडा व्यङ्ग्य प्रहार गर्दै एक कविता सार्वजनिक गरेका छन् । शनिबार आफ्नो सामाजिक सञ्जालमार्फत उनले प्रस्तुत गरेको कविताले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विसंगतिहरूप्रति तीव्र असन्तुष्टि र आक्रोश पोखेको छ ।
सांसद शाहीले आफ्नो कवितामा गणतन्त्र आम नागरिक, विशेषगरी न्यायबाट वञ्चित निर्मला पन्तजस्ता पीडितहरूका लागि नभई, आपराधिक गतिविधिमा संलग्न भई उन्मुक्ति पाउने अफताब आलमजस्ता पात्रहरूका लागि आएको हो कि भन्ने तीखो प्रश्न उठाएका छन् । यो पंक्तिले नै कविताको मूल मर्म र व्यङ्ग्यको धारलाई स्पष्ट पारेको छ ।
कवितामा उनले देशमा जताततै भ्रष्टहरूको बोलवाला र रजगज चलेको, गाउँ-गाउँमा ‘छोटे सरकार’ हरूले मनोमानी गरिरहेको र भ्रष्ट, दलाल, तस्कर तथा बिचौलियाहरूले नै राज्यको स्रोतसाधनमाथि ‘भोज’ गरिरहेको कटु यथार्थलाई चित्रण गर्ने प्रयास गरेका छन् ।
- सांसद शाहीको व्यङ्ग्यात्मक कविता जस्ताको तस्तै:-
साथीहरूले गणतन्त्र
निर्मला पन्तको लागि आयो भन्थे !
तर अफताफ आलमको लागि रहेछ ।।
जताततै भ्रष्टहरूको रजगज भएछ ।।
गाउँ–गाँउमा छोटे सरकारको मोज भएछ ।
भ्रष्ट, दलाल, तस्करी र बिचौलियाको भोज भएछ ।।



