काठमाडौं । यस वर्ष मनसुन नेपालमा सरदर मितिभन्दा झण्डै १५ दिन अघिदेखि सक्रिय बनेको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार रातिबाट मनसुन पूर्वी नेपाल हुँदै प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा फैलिएको जानकारी दिएको छ।
विभागका महानिर्देशक कमलराम जोशीका अनुसार नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ (जेठ ३०) भए पनि यस वर्ष मे २९ (जेठ १६) मा नै मनसुन भित्रिएको छ। कोशी प्रदेशमा मनसुनी प्रणाली सक्रिय रहेकाले हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
हाल देशका बाँकी भूभागमा भने अझै पनि पश्चिमी वायु र स्थानीय वायू प्रणाली प्रभावशाली रहेको जोशीले बताएका छन्। उनका अनुसार मनसुन क्रमशः अन्य भूभागमा समेत विस्तार हुँदै जानेछ।
चार महिना बढी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सिजन (जेठ १८ देखि असोज १४) मा देशभर औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागले आज सार्वजनिक गरेको मौसमी प्रक्षेपण अनुसार विशेषगरी कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा ५५ देखि ६५ प्रतिशत सम्भावनासहित औसतभन्दा बढी वर्षा हुने देखिएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी भाग, लुम्बिनीको पश्चिमी भाग, गण्डकीको उत्तर–पूर्वी क्षेत्र, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा ४५ देखि ५५ प्रतिशतसम्म बढी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मधेस प्रदेशको पूर्वी र दक्षिणी क्षेत्र तथा देशका अन्य बाँकी भू–भागमा ३५ देखि ४५ प्रतिशत सम्भावनासहित सरदर वा त्योभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ।
महानिर्देशक जोशीका अनुसार मौसम विभागले मनसुनको अवस्थामाथि नियमित अनुगमन गरिरहेको छ र आवश्यक सूचना समयमै अद्यावधिक गरिनेछ। उहाँले असिनापानी, बाढी र पहिरोको जोखिमसँग जुझ्न सबै तहका सरोकारवालालाई सतर्क रहन समेत आग्रह गर्नुभएको छ।




