गृहमन्त्रीको राजीनामा असम्भव, सदनमा जवाफ दिने बालुवाटार बैठकको निष्कर्ष

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेतृत्वसहित प्रधानमन्त्रीको आज बिहान बसेको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा असम्भव रहेको निचोड निकालेको छ ।

बैठकले आज बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले सदन र बाहिर आफूमाथि उठेका विभिन्न विषयमा जवाफ दिने र त्यसका लागि सभामुखसमक्ष समय माग गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले बैठकका निर्णयबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीसँगको उक्त छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकका साथै एमालेबाट मुख्य सचेतक बर्तौला उपस्थित थिए । छलफलपछि मुख्य सचेतक बर्तौलाले भने, ‘हिजो प्रतिपक्षले बैठक स्थगित गरौं भन्ने आग्रह गरेको हो । आजसम्मको समय मागेको हो, उहाँहरूले (प्रतिपक्षले) मान्नु भएन भने पनि गृहमन्त्रीले सदनमा बोल्नुहुन्छ ।’

भिजिट भिसा प्रकरणलगायतका विषयमा उठेका प्रश्नहरूबारे गृहमन्त्रीले सदनमार्फत नै स्पष्ट पार्ने सरकारको तयारी रहेको र सोहीअनुसार सभामुखलाई समय व्यवस्थापनका लागि आग्रह गरिने उनले बताए । प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप