सर्वोच्चबाट पनि न्याय पाइनँ, आस्था र विश्वासको जग हल्लियो : निकिता पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफूले देशको सर्वोच्च न्यायलयबाट समेत न्याय नपाएको गम्भीर गुनासो गरेकी छन् । श्रीमान् लामिछाने थुनामुक्त नभएपछि सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भावुक स्टाटस लेख्दै उनले ‘न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको’ टिप्पणी गरेकी हुन् ।

पौडेलले श्रीमान् लामिछानेविरुद्ध पर्याप्त प्रमाण नहुँदानहुँदै पनि मुद्दा चलाइएको दाबी गर्दै सर्वोच्च अदालतमा पेस गरिएको गैरकानुनी पक्राउसम्बन्धी रिटमा समेत कुनै ठोस निर्णय नआएकोमा दुःख व्यक्त गरिन् । उनले शुक्रबार सर्वोच्च अदालतमा भएको सुनुवाइको अनुभव पीडादायी रहेको उल्लेख गर्दै लेखेकी छन्, ‘जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन थियो । बहस सकिएपछि आदेश कुर्दा कुर्दा ७ घण्टा बित्यो । प्रवक्ता ‘एकैछिन’ भन्दै कार्यकक्षबाट निस्किए, फर्किएनन् । पछि थाहा भयो- आदेश बाहिर अनलाइनमा छापिइसकेको रहेछ । म निवेदक हुँ, तर आदेश मभन्दा पहिला पत्रकारले थाहा पाउँछन् ।’

शुक्रबारको दिन आफ्नो जीवनकै सबैभन्दा कठिन र पीडादायी बनेको उल्लेख गर्दै रातभर अनिन्द्रामा बितेको उनको भनाइ छ । ‘शुक्रबारको तनाव, अनिन्द्रा र रुवाई जिन्दगीकै अत्यन्तै कठिन दिन । भोलिपल्ट भैरहवा जानु थियो, म जिउँदो लास भएर हिँडेछु,’ उनले अगाडि भनेकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री