काठमाडौं । बर्दियाको मधुवन नगरपालिका-८ स्थित हुलाकी सडकखण्डअन्तर्गत लालसिंह चोकमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा गुलरिया नगरपालिका-२ निवासी अन्दाजी २८ वर्षीय देवानन्द यादव र मधुवन नगरपालिका-८ लालीबजारका अन्दाजी ३० वर्षीय टंकबहादुर विसी रहेका छन् । दुवै जनाले आफैंले चलाएका मोटरसाइकलमा यात्रा गरिरहेका थिए ।
देवानन्द यादवले चलाएको भे १३ प २६६९ नम्बरको मोटरसाइकल र टंकबहादुर विसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा देवानन्दको मोटरसाइकलमा सवार गुलरिया-२ निवासी अन्दाजी ३२ वर्षीय अनुपम यादव गम्भीर घाइते भएका छन् ।
घाइते अनुपम यादवको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालका अनुसार घाइतेको अवस्था गम्भीर छ । घटनापछि घाइतेहरूलाई तत्काल बर्दिया अस्पताल, गुलरिया पुर्याइएको थियो । तर, चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार दुवै मोटरसाइकल सानोश्रीबाट गुलरियातर्फ गइरहेका बेला राति साढे ११ बजेतिर दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी डमरपालले जानकारी दिए । प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने बताइएको छ ।



