काठमाडौँ । देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको सक्रियतासँगै बंगालको खाडी तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस मिश्रित मौसमी प्रणालीका कारण देशभरको मौसममा बदली र वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार, हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभाग तथा देशका अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना औंल्याइएको छ ।
राति कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना यथावत रहनेछ ।
महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा पर्न सक्ने सम्भावित प्रभावबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।




