काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन आगामी २०८४ सालको संसदीय निर्वाचनसम्म नै निरन्तर रहने दृढतापूर्वक दाबी गरेका छन् । उनले बजारमा सरकार ढल्ने भनेर चलाइएका हल्लाहरू पूर्णतः निराधार र कपोलकल्पित भएको टिप्पणी गरेका हुन् ।
प्रेस चौतारी दाङ शाखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सत्ता साझेदार दलहरूबीच गम्भीर असमझदारी उत्पन्न नभएसम्म सरकारको स्थायित्वमा कुनै खतरा नरहेको बताए । ‘जबसम्म सत्ता साझेदार दलहरुबीच असमझदारी पैदा हुँदैन, तबसम्म यो सरकार ढल्दैन,’ उनले भने, ‘यदि कुनै कारणवश असमझदारी भइहालेमा सरकार ढल्नका लागि कसैले भविष्यवाणी गरिरहनु पर्दैन, त्यो स्वतः हुने प्रक्रिया हो ।’
उनले मुलुकमा साना दलले ठूला दलमाथि अनावश्यक दबाब सिर्जना गरी शासन गर्ने अस्थिर परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए । वर्तमान सत्ता समीकरण ठूला दलहरूको अग्रसरतामा बनेको र यसले राजनीतिक स्थिरतालाई बल पुऱ्याउने उनको जिकिर थियो ।




