काठमाडौं । प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट ब्ल्याकभ्यू ट्याब मेगा २ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो ट्याब्लेट आधुनिक प्रविधि र किफायती मूल्यको संयोजन भएको कम्पनीको दाबी छ।
१२ इन्चको एचडी आईपीएस डिस्प्ले रहेको यो ट्याब्लेटले १२००×२००० पिक्सेल रिजोलुसन र ६० हर्ट्जको रिफ्रेस रेट प्रदान गर्छ। ट्याब्लेट युनिसक टाइगर टी६१५ अक्टा–कोर प्रोसेसरद्वारा सञ्चालित छ। यसमा ८ जीबी वा १२ जीबी र्यामसहित २५६ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ, जुन माइक्रोएसडी कार्ड प्रयोग गरी २ टेराबाइटसम्म विस्तार गर्न सकिन्छ।
ब्याट्री पक्षमा, ९,००० एमएएच क्षमताको ब्याट्री रहेको ट्याबले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। फोटोग्राफीका लागि १६ मेगापिक्सेलको पछाडिको क्यामेरा र ८ मेगापिक्सेलको अगाडिको क्यामेरा राखिएको छ।
सफ्टवेयरतर्फ, ट्याब्लेटमा एन्ड्रोइड १५ आधारित Doke OS 5.0 सञ्चालन प्रणाली दिइएको छ, जसले थप सहज र अद्यावधिक प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ। यसमा डुअल ४जी सिम स्लट, वाइडभाइन एल१ सपोर्ट, डुअल बक्स स्पिकर, ब्लुटुथ, वाइफाइ, जीपीएस जस्ता सुविधाहरू उपलब्ध छन्।
ब्ल्याकभ्यू ट्याब मेगा २ को मूल्य नेपालमा ३१,९९९ रुपैयाँ निर्धारण गरिएको छ। प्रयोगकर्ताले यो ट्याब्लेट दाराज नेपाल तथा यन्त्र नेपालमार्फत अनलाइन अर्डर गरी प्राप्त गर्न सक्नेछन्।
ब्ल्याकभ्यूका नेपाल प्रतिनिधिका अनुसार, ट्याब्लेट विशेषगरी मनोरञ्जन, अफिस कार्य, र अनलाइन अध्ययनका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएको हो। प्रविधिको पहुँचलाई किफायती बनाउने उद्देश्यसहित बजारमा उतारिएको ट्याबले मिड–रेंज सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने विश्वास कम्पनीले लिएको छ।



