तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार, पाँच जना घाइते

काठमाडौं । नेपाल तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा उत्पन्न विवाद हिंसात्मक बन्न पुगेपछि खुकुरीसहितको आक्रमणमा पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीसहर-९ का वडाध्यक्ष एवं तरुण दल क्षेत्रीय सभापति खुसीजंग गुरुङ र नेविसंघका केन्द्रीय सदस्य सुदीप अधिकारी गम्भीर घाइते छन् । दुवै जनाको प्रारम्भिक उपचार जिल्ला अस्पताल बेसीसहरमा गरिएको र थप उपचारका लागि चितवन रिफर गरिएको छ । अन्य घाइतेहरू शंकर सापकोटा, किशोर बस्नेत र धनबहादुर तामाङको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार हालसम्म कोही पनि पक्राउ परेका छैनन् । घाइतेहरूका तर्फबाट किटानी जाहेरी लिने प्रक्रिया चलिरहेको छ । लमजुङ प्रहरी प्रमुख डिएसपी रेशम बोहोराका अनुसार अधिवेशनमा प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद चुलिएको थियो । तरुण दलको विधानअनुसार प्रत्येक वडाबाट चार प्रतिनिधि, समावेशी प्रतिनिधि, र वडामा ३५ जनाभन्दा बढी साधारण सदस्य भए, उनीहरूबाट एक जना जिल्ला प्रतिनिधि छनोट गरिनुपर्ने प्रावधान छ । तर, अधिवेशनमा धेरै वडाबाट प्रतिनिधि नै नछनोट गरिएको भन्दै असन्तुष्टि देखिएको थियो ।

लमजुङमा रहेका ८ स्थानीय तहअन्तर्गत ७२ वडामध्ये धेरै वडाबाट प्रतिनिधि नछनोट गरिएको भन्दै विवाद चर्किएको हो । सुन्दरबजार नगरपालिका-धुसेनी लगायतका वडाबाट प्रतिनिधि नै नआएको तरुण दलका एक नेताले बताए ।

नेपाली कांग्रेसभित्रका दुई गुटबीचको प्रतिस्पर्धा हिंसामा परिणत भएको छ । अधिवेशन कब्जा गर्न सभापति शेरबहादुर देउवा पक्षले खुकुरीसहित आक्रमण गरेको शेखर कोइराला-गगन थापा समूहको आरोप छ । आक्रमणमा घाइते भएका पाँचै जना शेखर-गगन पक्षका कार्यकर्ता भएको दाबी गरिएको छ ।

यता, देउवा पक्षका लमजुङ कांग्रेस सभापति तथा गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङले भने बाहिरबाट अधिवेशनमा हुलहुज्जत गरिएकाले स्थिति बिग्रिएको जिकिर गरे । ‘हुलहुज्जत गरेर आक्रमण गरेपछि थापेर बस्ने त हुँदैन,’ उनले भने, ‘घटनाको छानबिन गरि दोषीउपर कारबाही हुनुपर्छ ।’

शेखर-गगन पक्षका लमजुङ कांग्रेसका निवर्तमान सभापति एवं गण्डकीका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले भने घटनालाई योजनाबद्ध आक्रमणको संज्ञा दिएका छन् । ‘भ्रातृ संगठनको अधिवेशनमा हतियारसहित आक्रमण होला भनेर कल्पना पनि गरिएको थिएन,’ उनले भने ।

उनले तरुण दलको संगठनलाई विधानअनुसार स्वच्छ प्रतिस्पर्धाबाट चलाउनुपर्ने माग गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन जोड दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री