काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको नाममा रहेको सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण विवरण डिजिटल माध्यमबाट सहज रूपमा प्राप्त गर्न सकिने व्यवस्था सहित ‘अनलाइन अक्सन पोर्टल’ सञ्चालनमा ल्याएको छ।
बैंकले सञ्चालनमा ल्याएको https://auctionassistance.nicasiabank.com पोर्टलमार्फत बैंकको नाममा रहेको बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलामी प्रक्रिया तथा विवरणको विस्तृत जानकारी आम ग्राहकले सजिलै प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले बैंकद्वारा लिलामीका लागि सार्वजनिक गरिएको सम्पत्तिको सूचना हेर्नका लागि उक्त सूचनामा रहेको क्युआर कोड स्क्यान गरेपछि सम्बन्धित पोर्टलमा पुग्न सक्नेछन्। त्यस पोर्टलमा:
-
सम्पत्तिको कित्ता नम्बर,
-
क्षेत्रफल,
-
फोटो,
-
नक्सा,
-
तथा गुगल म्यापमार्फत स्थान पहिचान गर्ने सुविधा उपलब्ध गराइएको छ।
यसका साथै, इच्छुक व्यक्तिले लिलामीमा राखिएको सम्पत्तिबारे थप जानकारी लिन सोही पोर्टलको सम्पत्ति विवरणसँगै रहेको म्यासेज बक्स मार्फत आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर तथा सम्पर्क विवरण राखी प्रश्न पठाउन सक्ने व्यवस्था पनि गरिएको छ।
एनआईसी एशिया बैंकले यो पोर्टललाई नियमित अद्यावधिक गर्दै बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेकाहरूको लिलाम सूचना निरन्तर प्रकाशित गरिने जनाएको छ। बैंकका अनुसार, डिजिटल प्रविधिको उपयोगले सम्पत्ति लिलामी प्रक्रियामा पारदर्शिता, पहुँच र सहजता थपिएको छ।
बैंकले विश्वास लिएको छ कि लिलामी सम्पत्तिमा चासो राख्ने इच्छुक ग्राहकवर्गले यस डिजिटल प्लेटफर्ममार्फत आवश्यक सम्पूर्ण जानकारी प्राप्त गरी सजिलै निर्णय गर्न सक्नेछन्।
एनआईसी एशिया बैंक आधुनिक प्रविधिमार्फत ग्राहक सेवा सरल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले यस्तो डिजिटल समाधान अघि सारेको जनाएको छ।




