काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच ‘नेपालपे कार्ड’ तथा एनपिएस–एनसिएस प्रणाली अन्तर्गत प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक सम्झौता सम्पन्न भएको छ।
उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख – खुद्रा तथा वित्तीय सेवा विभागका दीपेश अमात्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
एनसीएचएलले हालै नेपाल पेमेन्ट स्किम – नेशनल कार्ड स्विच (एनपिएस–एनसिएस) पूर्वाधार निर्माण सम्पन्न भइसकेको घोषणा गर्दै वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे कार्ड’ को इस्यूइङ्ग तथा अक्वायरिङ्ग सेवामा आबद्ध हुन आह्वान गरेपछि लक्ष्मी सनराइज बैंकले उक्त प्रणालीमा आधिकारिक रूपमा प्रवेश गरेको हो।
अब, नेपालपे कार्डको कमर्सियल रोलआउटपछि लक्ष्मी सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई नेपालमै निर्मित र सञ्चालनमा ल्याइएको कार्डमार्फत सेवा दिन सक्नेछ। यसबाट ग्राहकहरूले भुक्तानी, नगदरहित कारोबार तथा अन्य डिजिटल सेवा सहज रूपमा उपयोग गर्न सक्ने छन्।
एनपिएस–एनसिएसलाई देशभरका विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्ने उद्देश्यसहित ‘केन्द्रीय कार्ड स्विच’ का रूपमा स्थापना गरिएको हो। यस प्रणालीको पूर्ण कार्यान्वयनबाट:
-
डोमेस्टिक कार्ड कारोबारको लागत घट्ने,
-
डेटा लोकलाइजेसन सुनिश्चित हुने,
-
डिजिटल इकोसिस्टममा नवीनतम उपकरण र प्रविधिको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पेमेन्ट सिस्टम अपरेटर (पीएसओ) र पेमेन्ट सेवा प्रदायक (पीएसपी) तथा १०० भन्दा बढी गैर–बैंक सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको छ।
नेपालका अग्रणी वाणिज्य बैंकहरू मध्येको लक्ष्मी सनराइज बैंकले देशभर २५४ शाखा, २७ विस्तारित काउन्टर र ३२९ एटीएममार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। अब, एनसीएचएलसँगको सहकार्यले बैंकको डिजिटल सेवा पहुँच र दायरा थप विस्तारित हुने विश्वास लिइएको छ।




