कमजोर प्रणालीका कारण विद्युत आपूर्ति प्रभावित भयो, चिन्ता लिनु पर्दैन : कार्यकारी निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभर विद्युत् आपूर्तिमा आएको अस्थायी अवरोधका पछाडि प्रसारण सञ्जाल विस्तारमा देखिएको कमजोरी जिम्मेवार रहेको स्पष्ट पारेका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले विद्युत् उत्पादन सन्तोषजनक रूपमा वृद्धि भए पनि त्यसअनुसार प्रसारण लाइनको पूर्वाधार नबढ्दा समस्या निम्तिएको स्वीकारे।

शुक्रबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले भने, “विद्युत् उत्पादनसँगै प्रसारण नेटवर्क पनि उस्तै गतिमा अघि नबढे यस्ता साना तर व्यापक असर पार्ने घटनाहरू दोहोरिरहन्छन्।”

उनको भनाइअनुसार, बिहीबार साँझ ६:३८ बजे दुई ठूला प्रसारण लाइनहरू — ढल्केबर–वसन्तपुर र ढल्केबर–नवलपुर मा एकैसाथ रुखको हाँगा खस्दा प्रणालीमा ठूलो समस्या आएको थियो। “त्यो समय आसपासमा चक्रवातजस्तो शक्तिशाली हावाहुरी चलेको थियो, जसका कारण धेरै स्थानमा एकैचोटि समस्या देखियो,” शाक्यले बताए।

उनले प्रष्ट पारेअनुसार, ढल्केबरबाट पश्चिम र वीरगञ्ज क्षेत्र हुँदै जाने प्रसारण लाइनहरूमा पनि एकै समयमा अवरोध देखिएको थियो। “हामीले प्रणाली पुनः सुचारु गर्न प्रयास गर्‍यौं, तर स्वचालित उपायले सम्भव नभएपछि भारतसँग समन्वय गरेर दुई वटा कोड पठाई समस्या पहिचान तथा समाधान गरिएको हो,” उनले बताए। यही प्रक्रिया पूरा गर्न केही समय लागेकाले उपभोक्ताले विद्युत् अवरोधको अनुभव गरेको स्पष्टिकरण उनले दिए।

विद्युत् अवरुद्ध भएको भोलिपल्टै शाक्यले प्राधिकरणभित्र प्रणाली नियन्त्रण, वितरण, प्रसारण र योजना विभागका सम्पूर्ण पदाधिकारीहरूसँग बैठक गरी प्रणाली सुदृढीकरण (रिइन्फोर्समेन्ट) का तीन प्राथमिक चरण तय गरिएको जानकारी दिए। “तत्काल गर्नुपर्ने, एक वर्षभित्र सम्पन्न गर्नुपर्ने र दीर्घकालीन योजनामा गर्नुपर्ने काम छुट्याइएको छ,” उनले भने।

शाक्यले सामाजिक सञ्जाल र सार्वजनिक चासोमा व्यापक रूपमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै कुनै किसिमको चिन्ता लिनु नपर्ने स्पष्ट गरे। “हिजो अढाई घण्टा कन्ट्रोल रुममै बसेर प्रत्यक्ष घटनाक्रम नियालें। त्यसपछि सबै सरोकारवालासँग छलफल गरेर आवश्यक सुधार प्रक्रिया थालिएको छ,” उनले भने, “हामी हिजोभन्दा अझ चुस्त र सक्षम प्रणाली तयार गर्दैछौं।”

उनले देशभर विद्युत् उत्पादन क्रमशः बढिरहेकोले अबको चुनौती प्रसारण सञ्जालको विस्तार र सुदृढीकरण हुने उल्लेख गर्दै, प्राधिकरण त्यसमा पूर्ण रूपमा केन्द्रित रहेको बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री