शब्दमा बोल्यो संघर्षको इतिहास : ‘भुइँमान्छे’ कृतिको विमर्श

काठमाडौँ । नेपाली कम्युनिस्ट आन्दोलनका आधारशिला भएर पनि इतिहासको उज्यालोबाट टाढा परेका जनस्तरका नायकहरूको जीवनसंघर्षलाई समेटिएको ‘भुइँमान्छे’ कृतिको समीक्षा कार्यक्रम काठमाडौँमा सम्पन्न भएकाे छ ।

डा. बिन्दा पाण्डेद्वारा लेखिएको यो पुस्तक ती सयौँ-हजारौँ त्यस्ता पात्रहरूको सन्दर्भ हो, जसले न त पद खोजे, न त प्रचार, तर परिवर्तनको जग बसाल्ने काम गरे । कार्यक्रम केवल साहित्यिक संवादको अवसर थिएन, यो एक ऐतिहासिक प्रयास थियो,आन्दोलनको आत्मा बनेका, तर इतिहासमा नाम नभएका ती सच्चा नायकहरूलाई कदर गर्ने ।

कार्यक्रमका प्रमुख वक्ता, पूर्व परराष्ट्र मन्त्री आदरणीय प्रदीप ज्ञवालीले पुस्तकको महत्त्वमाथि प्रकाश पार्दै भने, ‘भुइँमान्छेहरू नै हाम्रो आन्दोलनका मेरुदण्ड हुन् । उनीहरूको योगदान विना परिवर्तनको कथा अधूरो रहन्छ ।’

पुस्तकले स्मरण गराउँछ- साँचो रूपान्तरण माथिबाट होइन, भुइँबाट, जनस्तरबाट सुरु हुन्छ।  यिनै भुइँमान्छेहरूले नै क्रान्तिको बीज रोपे, र परिवर्तनलाई जरा गाड्न मद्दत गरे ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सांसद गवती न्यौपाने, डा. अञ्जान शाक्य, प्रेस परिषद्का अध्यक्ष बालकृष्ण बस्नेत, रासस तथा गोरखापत्र संस्थानका महाप्रबन्धक सिद्धराज राई, लाल ऐरी, नेपाल शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपती तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का लगायत समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रह्यो ।

समीक्षामा सहभागी स्रष्टा, अभियन्ता तथा पत्रकार विमला तुम्खेवा, विमल नेपाल, भगवती थापा, लोग्शरी कुँवर, राधा खनाल, कल्पना शर्मा, पवित्रा मुडवरी, सबिता शर्मा लगायतरूको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण पत्रकार निमा काफ्लेले गरेकी थिइन् ।

आयोजनाको व्यवस्थापन अशिक कार्कीVed International Education ले गरेकाे थियाे ।

कार्यक्रमको समापनमा डा. बिन्दा पाण्डेले भनिन्, ‘भुइँमान्छेको विमर्शले नयाँ पुस्तालाई आन्दोलन बुझ्न स्पष्ट रूपरेखा दिएको छ । नेताहरूले बुझ्नुपर्छ-जनस्तरमा रहेका सच्चा क्रान्तिकारीहरूको सम्मान विना कुनै पनि परिवर्तन दीगो हुँदैन ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री