पोखरा । पोखरामा एक गम्भीर सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा महानगरपालिका–३२, लामेआहालमा दुर्घटनामा परेको हो।
कास्की ट्राफिक प्रहरी कार्यालयकी इन्सपेक्टर शोभा पाण्डेका अनुसार, गम्भीर घाइते चार जनालाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (विपी कलेज) लगिएको थियो। तीमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ। अन्य घाइतेहरूको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा चालकसहित १० जना सवार थिए। प्रहरीका अनुसार दुर्घटनाको कारण र मृतकहरूको पहिचान खुल्न बाँकी छ। प्रारम्भिक अनुसन्धानपछि मात्र दुर्घटनाको यथार्थ विवरण बाहिर आउने बताइएको छ।
घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ र थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।



