हिउँदे वा वर्षे बिदामा पनि पठनपाठन सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयहरूलाई हिउँदे वा वर्षे बिदाको समयमा विद्यालयको अनुकूलताअनुसार पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै २०८१ चैत महिनामा शिक्षक तथा कर्मचारीको काठमाडौं केन्द्रित आन्दोलनका कारण विद्यार्थी भर्ना तथा पठनपाठनजस्ता शैक्षिक क्रियाकलापमा परेको प्रभावलाई ध्यानमा राख्दै यस्तो अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘पेसागत आन्दोलनका क्रममा शिक्षक तथा कर्मचारीको सहभागिताले विद्यालयको शैक्षिक तथा प्रशासकीय पक्ष प्रभावित भएकाले शिक्षकको मनोबल उच्च राखी प्रशासकीय प्रबन्ध मिलाउन तथा छुटेको समयको सन्तुलन कायम गर्न यस प्रकारको आग्रह गरिएको हो ।’

मन्त्रालयले नेपाल शिक्षक महासंघको प्रतिबद्धतालाई पनि आधार मानेर आवश्यक व्यवस्थापन गर्न सबै सामुदायिक विद्यालयहरूलाई अनुरोध गरेको छ । शिक्षक तथा कर्मचारीहरू हाल विद्यालयमा फर्किसकेका छन् र नियमित पेसागत दायित्वमा संलग्न भइसकेका छन् भन्ने उल्लेख गर्दै मन्त्रालयले समन्वयका लागि सम्बन्धित निकायहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिमा गुणात्मक सुधार ल्याउन सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्यसम्पादन, समन्वय, सहकार्य र सहजीकरण आवश्यक रहेको बताएको छ । साथै, यस अभियानमा स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र सरोकारवाला सबै पक्षको एकीकृत प्रयास अपरिहार्य रहेको मन्त्रालयको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री