बिचौलिया र भ्रष्टाचार समृद्धिको प्रमुख बाधक : डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले मुलुकको समृद्धिमा बिचौलिया संस्कृति र संस्थागत भ्रष्टाचार मुख्य बाधक रहेको टिप्पणी गरेका छन् । नवलपुरको देवचुली नगरपालिका-१५ मा आयोजित रास्वपाको वडा अधिवेशनमा शनिबार सम्बोधन गर्दै डा. वाग्लेले नीति र स्रोतको पर्याप्तता हुँदाहुँदै पनि कार्यान्वयन पक्ष कमजोर रहँदा देश पछि परेको बताएका हुन् ।

‘हामीसँग नीति छ, स्रोत साधन छन्, तर ती बिचौलियाको कब्जामा परेका छन्,’ वाग्लेले भने, ‘राजनीतिक इच्छाशक्तिको अभाव र प्रणालीगत कमजोरीले भ्रष्टाचार मौलाइरहेको छ ।’

समाजशास्त्र, सार्वजनिक प्रशासन र अन्तर्राष्ट्रिय विकास नीतिमा आफ्नो अनुभव सन्दर्भित गर्दै उनले सुशासन, पारदर्शिता र जवाफदेहिताको खाँचो औंल्याए। वर्तमान समयमा आर्थिक क्रान्तिको आवश्यकता रहेको उल्लेख गर्दै उनले कुशासनकै कारण मुलुक संकटमा परेको दाबी गरे । ‘राम्रा शासकको अभावमा देशको हितमा काम हुन सकेको छैन,’ भन्दै डा. वाग्लेले सरकारप्रति गम्भीर आरोप समेत लगाए । उ

नले सरकारले आफ्ना कमजोरी छिपाउन संवैधानिक अंगहरूमा आफ्नै नजिकका व्यक्तिहरू नियुक्त गरेर संस्थागत कब्जा गर्ने प्रयास गरिरहेको आरोप पनि लगाए । शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा व्यापक सुधार अपरिहार्य भएको उल्लेख गर्दै वाग्लेले सरकारी सेवा प्रणालीलाई जनमुखी बनाइनुपर्नेमा जोड दिए । उनले रास्वपा ‘लुकाइने विषयहरूमा पनि खुलस्त बोल्न तयार’ रहेको बताउँदै, संसदमार्फत उठाइएका मुद्दाहरू जनताले महसुस गर्न थालेको विश्वास व्यक्त गरे ।

राजनीतिक नेतृत्वको असफलताको मूल्य सर्वसाधारण नागरिकले चुकाइरहेको उल्लेख गर्दै उनले योजनाको प्रभावकारी कार्यान्वयन र जवाफदेही नेतृत्वको खाँचो रहेको स्पष्ट पारे । ‘हामी अघिल्लो पुस्ताको जस्तो राजनीति होइन, नयाँ पुस्ताको भरोसायोग्य नेतृत्व दिन चाहन्छौं,’ उनले भने ।

रास्वपा सभापति रवि लामिछानेलाई फसाएर पार्टीलाई कमजोर पार्ने प्रयास असफल हुने दाबी गर्दै वाग्लेले लामिछाने छिट्टै मुक्त हुने विश्वास पनि व्यक्त गरे । कार्यक्रम रास्वपाका केन्द्रीय सदस्य, प्रदेश र जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री