काठमाडौं । काठमाडौं महानगरपालिका-०३ नारायणगोपाल चोक नजिक गएराति भएको सवारी दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन् । गएराति १२:४५ बजे नयाँ बसपार्कतर्फ गइरहेको बा ४ ख १२०३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र-०२-०४१ प ३९३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
नारायणगोपाल चोक नजिकै भएको दुर्घटनामा धादिङको गजुरी गाउँपालिका-७ निवासी २० वर्षीय दार्तामान तामाङ गम्भीर घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, दुर्घटनामा तामाङको निधार, घाँटी र नाकमा गम्भीर चोट लागेको छ । सुरूमा त्रिवि शिक्षण अस्पतालमा उपचार गराइएका तामाङलाई थप उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा रेफर गरिएको छ ।
दुर्घटनापछि गरिएको प्रारम्भिक अनुसन्धानमा तामाङले चलाएको मोटरसाइकल चोरीको भएको खुल्न आएको प्रहरीले जनाएको छ । उनका अनुसार तामाङले सो मोटरसाइकल शंखरापुर नगरपालिका-७ साँखुबाट गएराति नै चोरी गरेका थिए । मोटरसाइकलका वास्तविक धनी अनिल स्याङ्बो प्रहरी सम्पर्कमा आइसकेका छन् ।
प्रहरीका अनुसार चोरीको मोटरसाइकल लिएर भाग्ने क्रममा तामाङले विपरीत दिशाबाट टिपरसँग ठोक्किएका हुन् । घटनापश्चात टिपर चालक फरार रहेका छन् भने टिपरका साहु नुवाकोटको ककनी गाउँपालिका-२ निवासी उत्तम घिमिरे प्रहरी सम्पर्कमा आएका छन् । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




