कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका उच्च अधिकारीहरूसँग गम्भीर छलफल गर्नुभएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा प्रदेशमा बढ्दो लागुऔषध दुव्र्यसन, सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि, चोरी र तस्करी नियन्त्रणका विषयमा विशेष चर्चा गरिएको हो ।
मुख्यमन्त्री शाहको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा विशेषगरी सुदूरपश्चिमका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो । सुरक्षा निकायले सीमा क्षेत्रमा लागुऔषध तस्करी तथा आपराधिक गतिविधिहरू नियन्त्रण गर्न निगरानी प्रणाली कडा बनाइएको जानकारी दिएका थिए। उनीहरूले साना प्रयोगकर्ताभन्दा लागुऔषधका व्यापारीहरूलाई प्राथमिकताका साथ नियन्त्रणमा लिन प्रभावकारी रणनीति अवलम्बन भइरहेको बताएका थिए ।
बैठकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न सुरक्षा अंगका प्रतिनिधिहरू, विभागीय मन्त्रीहरू, सचिवहरू तथा प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति रहेको थियो । सहभागीतामध्ये डम्बर बहादुर बी.क. – प्रहरी नायव महानिरीक्षक, सुदूरपश्चिम प्रहरी कार्यालय; प्रदीप कुमार पाल – सशस्त्र प्रहरी नायव महानिरीक्षक, स.प्र.बल ७ नं. वैद्यनाथ बाहिनी; अनुसन्धान निर्देशक बाल नरसिंह राणा – राष्ट्रिय अनुसन्धान, सुदूरपश्चिम प्रदेश कार्यालय; खडक बहादुर खत्री – प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर; र धनगढी तथा झलारीस्थित सशस्त्र प्रहरी गणका उपरीक्षकहरू पनि थिए ।
प्रदेश सरकार र सुरक्षा निकायबीच समन्वयात्मक ढंगले काम गर्दै प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न आवश्यक रणनीति अवलम्बन गरिने बैठकमा निष्कर्ष निकालिएको छ। साथै, सीमामा सहज आवागमनका लागि पनि कानुनी दायराभित्र रही प्रभावकारी व्यवस्थापन गरिने प्रतिबद्धता जनाइएको छ ।




