भारत-पाकिस्तान तनाव उत्कर्षमा, सीमापार आक्रमणमा ४४ जनाको मृत्यु

काठमाडाैं । भारतले अप्रिल ७ को रात सन्चालित सिन्दुर अपरेसनका क्रममा पाकिस्तानका विभिन्न भागमा आक्रमण गरेको दाबीसँगै दक्षिण एशियामा सुरक्षा अवस्था फेरि एकपटक जटिल बन्दै गएको छ। पछिल्ला घटनाक्रममा पाकिस्तान र भारत दुवै पक्षका गरी कम्तीमा ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

पाकिस्तानको पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा भारतको आक्रमणबाट कम्तीमा ३१ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने भारतले समेत एक सैनिकसहित १३ जनाको ज्यान गएको जानकारी दिएको छ।

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले संसदमा सम्बोधन गर्दै निर्दोष नागरिकको ज्यान लिएको आरोप भारतमाथि लगाउँदै भने, “हामी हाम्रा सहिदहरूको रगतको बदला लिने छौं।” उनले भारतीय आक्रमणको प्रतिकारस्वरूप पाकिस्तानको सेनाले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी समेत गरे।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले देशको सशस्त्र बललाई आवश्यक प्रतिउत्तर दिन सम्पूर्ण अधिकार दिएको छ। पाकिस्तानले “समय, स्थान र तरिकाको रोजाइअनुसार” जवाफ दिने चेतावनीसमेत दिएको छ।

यता भारतले भने आफ्नो सैन्य कारबाही ‘आतंकवादी’ प्रशिक्षण स्थलहरूलाई लक्षित गरी गरिएको बताएको छ।

सीमामा थप तनाव चुलिँदै जाँदा अन्तर्राष्ट्रिय समुदायले दुवै आणविक शक्तिहरूलाई संयमता अपनाउन आग्रह गरिरहेका छन्। बेलायत, फ्रान्स, जर्मनी, इरान, टर्किए, कतार र संयुक्त अरब इमिरेट्स (युएई) जस्ता राष्ट्रहरूले भारत र पाकिस्तानलाई कूटनीतिक संवादमा फर्कन अपिल गरेका छन्।

इरानले दुई देशबीच मध्यस्थता गर्ने प्रस्ताव अघि सारेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले भारत र पाकिस्तान दुवैसँग अलग–अलग रूपमा वार्ता गरिसकेका छन्।

यसैबीच, भारत–पाकिस्तान प्रशासित कश्मीरलाई विभाजन गर्ने लाइन अफ कन्ट्रोल (LOC) क्षेत्रमा तोपखानाको गोलाबारीको तीव्र आदानप्रदान भइरहेका छन्, जसले स्थिति झन जटिल बनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप