बाथरुममा चिप्लिएर निधारमा चोट, प्रचण्ड अस्पतालबाट फर्किए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा चिप्लिएर सामान्य घाइते भएका छन् । सुत्नुअघि बाथरुम प्रयोग गर्ने क्रममा चिप्लिएर लडेपछि उनी घाइते भएका हुन् ।

घटनापछि तत्कालै काठमाडौंस्थित मेडिसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । चिकित्सकहरूले घाइते भए पनि अवस्था पूर्णतः सामान्य रहेको पुष्टि गरेका छन् ।

प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत प्रचण्डको स्वास्थ्यसम्बन्धी जानकारी दिँदै लेखेकी छन्, ‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु । बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद ।’

प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, हाल प्रचण्डले पुनः नियमित कार्यसूची अनुसार काम सुरु गरिसकेका छन् । यद्यपि, चिकित्सकको सल्लाहअनुसार केही दिन विश्रामसहितका हल्का कार्यक्रमहरूमा मात्र संलग्न हुने बताइएको छ ।

सामान्य स्वास्थ्य घटनाले पनि पार्टी अध्यक्षको अवस्थाप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति प्रचण्ड परिवार र सचिवालयले आभार प्रकट गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री