भादामा आयोजना हुँदै होमस्टे पर्यटन सम्बन्धी विशेष कार्यशाला

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत तारा गाउँ विकास समितिको आयोजनामा धनगढी-१६ भादामा होमस्टे (घरबास) पर्यटन प्रवर्द्धनसम्बन्धी विशेष कार्यशाला गोष्ठीको आयोजना हुने भएको छ ।

उक्त गोष्ठीमा पर्यटनविद् डा. अलकबाबु प्रसाईले ‘आन्तरिक शुशासन’ विषय र रैथाने कृषि तथा होमस्टे अभियन्ता तथा बिज्ञ तिलक बहादुर ढकालले ‘दिगो होमस्टे पर्यटनको आधार’ विषयमा अर्को कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तुत कार्यपत्रहरूमा गोष्ठीमा सहभागी सरोकारवालाबीच छलफल र अन्तरक्रिया गरिनेछ ।

गोष्ठीका माध्यमबाट होमस्टे पर्यटन प्रवर्द्धनमा देखिएका चुनौतीहरूको पहिचान र समाधान, साथै नीति, योजना तथा रणनीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम स्थलमा सहभागी होमस्टे सञ्चालकहरूले तयार पारेका स्थानीय परिकार, हस्तकलाका सामग्री, भ्रमण प्याकेज र प्रचार-प्रसारसम्बन्धी स्टलहरू प्रदर्शन गरिनेछ । साथै विविध जातजातिका सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन् जसबाट सुदूरपश्चिमको समृद्ध संस्कृति र कला उजागर हुनेछ ।

कार्यक्रमको उद्घाटन सत्रमा देशभर सञ्चालनमा रहेका सामुदायिक होमस्टेहरूमध्ये उत्कृष्ट तीन होमस्टेहरुलाई राष्ट्रिय पुरस्कार प्रदान गरिने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बदी प्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने होमस्टेहरुलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद र प्रमाणपत्र प्रदान गर्नुहुनेछ ।

तारा गाउँ विकास समितिको अगुवाइमा २०६७ सालदेखि होमस्टे पर्यटन प्रवर्द्धनमा निरन्तर कार्य हुँदै आएको छ । हालसम्म करिब १५०० होमस्टे विधिवत रूपमा दर्ता भई अधिकांश सञ्चालनमा छन् । यी होमस्टेहरूले ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री