जलवायु विज्ञहरूको प्रक्षेपण- यसवर्ष मनसुनमा धेरै पानी पर्ने, तापक्रम उच्च

काठमाडौं । आगामी झन्डै डेढ महिनामा सुरु हुने मनसुन यस वर्ष नेपालसहित दक्षिण एशियाका अधिकांश क्षेत्रमा औसतभन्दा बढी हुने सम्भावना रहेको जलवायु विज्ञहरूले प्रक्षेपण गरेका छन् । भारतको पुणेमा सम्पन्न ‘साउथ एशियन क्लाइमेट आउटलुक फोरम’ को बैठकमा प्रस्तुत प्रक्षेपणअनुसार, यो वर्ष मनसुनी वर्षा सामान्य अवस्थाभन्दा तीव्र हुने आँकलन गरिएको हो ।

बैठकमा सहभागी नेपाल जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार, यो दीर्घकालीन प्रक्षेपण विभिन्न मौसम मोडलहरूका विश्लेषणमा आधारित छ । ‘हालको प्रक्षेपण अनुसार, मनसुन औसतभन्दा बढी हुने संकेत देखिएको छ । तथापि, मे महिनाको मध्यतिर फेरि अद्यावधिक प्रक्षेपण गरिनेछ, जसले परिस्थितिमा केही फेरबदल ल्याउन सक्छ,’ हुमागाईँले भने ।

प्रक्षेपणमा दक्षिण एसियाका उत्तर, दक्षिण, पूर्व र उत्तरपूर्वी भेगका केही भूभागमा भने सामान्य वा त्यसभन्दा थोरै कम वर्षा हुने पनि जनाइएको छ । तर नेपालमा भने गत वर्षको तुलनामा यो वर्ष पनि उल्लेख्य मात्रामा वर्षा हुने सम्भावना रहेको वैज्ञानिकहरूको विश्लेषण छ । गत वर्षको मनसुन अवधिमा नेपालमा १२२ प्रतिशत, अर्थात् १६७०.७ मिलिमिटर वर्षा भएको थियो, जुन सामान्यभन्दा १३ दिन लामो थियो ।

एल निन्यो र मनसुनको सम्बन्ध
दक्षिण एशियाली मनसुनमा प्रभाव पार्ने मुख्य प्रणाली ‘एल निन्यो-ला निन्या’ हो । हाल प्रशान्त महासागरमा ‘एल निन्यो सदर्न असिलेशन’ (ENSO) को तटस्थ अवस्था कायम रहेको जनाइएको छ, जसको अर्थ न एल निन्यो न ला निन्या- दुवै अवस्थाको स्पष्ट संकेत नदेखिएको हो । यो तटस्थ अवस्था आगामी मनसुनदेखि हिउँदसम्म कायम रहने प्रक्षेपण गरिएको छ । हुमागाईँका अनुसार एल निन्यो हुँदा कम र ला निन्या हुँदा बढी वर्षा हुने प्रवृत्ति रहँदै आएको छ । तर तटस्थ अवस्थामा भने नेपालमा सामान्यदेखि बढी वर्षा हुने सम्भावना बढी देखिन्छ ।

हिन्द महासागर र उत्तरी गोलार्द्धको प्रभाव
मनसुनमा हिन्द महासागरको डाइपोल र उत्तरी गोलार्द्धमा जम्ने हिउँको अवस्थाले समेत भूमिका खेल्ने मौसमविद्‌हरू बताउँछन् । हाल डाइपोल र उत्तरी गोलार्द्ध पनि तटस्थ अवस्थामा छ र मनसुनसम्म सोही अवस्था रहने अनुमान गरिएको छ । उत्तरी गोलार्द्धमा यो वर्ष कम हिउँ परेकाले नेपालमा वर्षा बढ्न सक्ने वैज्ञानिकहरू बताउँछन् ।

तापक्रम पनि बढ्ने अनुमान
एल निन्यो तटस्थ अवस्थाकै प्रभावस्वरूप यो वर्ष बर्खायाममा न्यूनतम तापक्रम सामान्यभन्दा बढी हुने पनि अनुमान गरिएको छ, जसले जलवायु परिवर्तनको असरलाई अझै स्पष्ट पार्दछ । यस क्षेत्रीय पूर्वानुमान सार्क राष्ट्रहरू र म्यान्मारका मौसम निकायहरूको सहभागितामा, अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहयोगमा तयार पारिएको हो । यस्ता प्रक्षेपणहरू संयुक्त राष्ट्रसंघीय मौसम निकायको पहलमा विगत केही वर्षदेखि नियमित रूपमा सार्वजनिक हुँदै आएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री