प्रिसाको मृत्युले उठायो राष्ट्रिय बहस : नेपाली विद्यार्थी विदेशमा कति सुरक्षित छन् ?

काठमाडौं । भारतको उडिसास्थित प्रतिष्ठित शिक्षालय कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को होस्टेलमा फेरि एक नेपाली विद्यार्थी मृत फेला परेकी छन् । सर्लाहीको कविलासी नगरपालिका-८ स्थायी घर भई हाल वीरगञ्ज-१५ मा अस्थायी बसोबास गर्दै आएकी १९ वर्षीया प्रिसा साह बिहीबार बेलुकी करिब ८ बजे होस्टेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रिसा बीटेक कम्प्युटर साइन्सको पहिलो वर्षमा अध्ययनरत थिइन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी सिनियर छात्राहरूको साथमा होस्टेलमा बस्दै आएकी थिइन्, तर घटना हुँदा कोठामा अरू कोही थिएनन् । यसअघि गत फागुन ४ गते बुटवलकी २० वर्षीया प्रकृति लम्साल पनि केआइआइटीको होस्टेलमा मृत फेला परेकी थिइन् ।

छात्रा साहको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । भारतीय विदेश मन्त्रालयका अनुसार घटनाको जानकारी पाउनेबित्तिकै भुवनेश्वर प्रहरीका उच्च अधिकारीहरू र फरेन्सिक टोली केआइआइटी पुगेको थियो। शवलाई अस्पताल लगिएको छ भने घटनास्थललाई प्रहरीद्वारा सुरक्षित गरिएको छ।

यसअघि मृत्यु भएकी प्रकृति लम्सालले आत्महत्याअघि कलेज प्रशासनमा मानसिक दुव्र्यव हार र ब्ल्याकमेलसम्बन्धी उजुरी दिएकी थिइन् । सो उजुरीलाई गम्भीरतापूर्वक नलिएको भन्दै लम्सालको मृत्युले विश्वविद्यालय प्रशासनको भूमिकामाथि कडा प्रश्न उठाएको थियो ।

छात्रा साहको मृत्युपछि नेपाली दूतावासले कलेज प्रशासन, भारतीय केन्द्र तथा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । शुक्रबार बिहान दूतावासमा किटका प्रतिनिधिहरूसँग छलफल गरिएको थियो। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले घटनाको तुरुन्तै कूटनीतिक तहबाट छानबिन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएकी छन्।

साढे दुई महिनाको अन्तरालमा एउटै विश्वविद्यालयमा दोस्रोपटक नेपाली विद्यार्थी मृत फेला परेपछि विश्वविद्यालयको निगरानी प्रणाली र सुरक्षा अवस्थामाथि गम्भीर प्रश्नहरू उठेका छन् । शुक्रबार बिहान पद्मकन्या क्याम्पसमा स्ववियु नेतृत्वमा विद्यार्थीहरूले कालो मास्कसहित प्रदर्शन गरे । ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, ‘वी वान्ट जस्टिस’ जस्ता नारा लगाउँदै दोषीउपर कारबाहीको माग गरिएको थियो ।

यता, भारतको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबिभिपी) ले पनि घटनालाई लज्जास्पद भन्दै किट प्रशासनमाथि कडा कारबाही गर्न माग गरेको छ । एबिभिपीले जारी विज्ञप्तिमा राज्य सरकार मौन बसेकोप्रति आक्रोश व्यक्त गरिएको छ ।

विश्वविद्यालय प्रशासनले भने छात्रा साहले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति निकालेको छ । प्रशासनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर, घटनाको अनुसन्धान जारी रहँदै कलेजद्वारा आत्महत्या करार गरिएको विषयले आलोचना निम्त्याएको छ ।

छात्रा साहको मृत्युको खबर सार्वजनिक भएपछि किट क्याम्पसबाट सञ्चालित फेसबुक, इन्स्टाग्राम, युट्युबजस्ता सामाजिक सञ्जालहरू बन्द गरिएका छन् । यसअघि पनि प्रकृति लम्सालको मृत्युपछि यस्तै बन्द गरिएको थियो ।

हाल किटमा करिब ७०० नेपाली विद्यार्थी अध्ययनरत छन् । घटनापछि दूतावासले क्याम्पसमा रहेका विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गराउन जोड दिएको छ । नेपाली राजदूत डा. शंकर शर्माले उडिसाका मुख्यमन्त्री र प्रमुख सचिवलाई सम्पर्क गरी निष्पक्ष छानबिनको माग गरेका छन् । छात्रा प्रिसा साहको मृत्युले पुनः एकपटक भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री