काठमाडौँ । महिलाको सर्वाङ्गीण उत्थान र सबलीकरणलाई प्रमुख प्राथमिकतामा राख्दै सरकारले यस वर्षको नीति तथा कार्यक्रममा महिला लक्षित योजनामा विशेष ध्यान दिने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्मा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘महिलाविरुद्ध हुने हिंसा, शोषण र भेदभाव अन्त्य गरिनेछ।’ यससँगै महिलाको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक अधिकारको सुनिश्चितताका लागि प्रभावकारी नीति कार्यान्वयन गरिने स्पष्ट गरिएको छ।
महिला सबलीकरणलाई दिगो विकासको आधार मान्दै सरकारले लैङ्गिक समानता प्रवर्द्धन गर्ने, महिलाको नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा उनीहरूलाई उद्यमशीलता र रोजगारीमा समावेश गराउने योजना अघि सारेको छ।
नीति तथा कार्यक्रममा महिलामाथि हुने सबै प्रकारका विभेद हटाउँदै उनीहरूको समान सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। यस्ता योजनाले महिलाको सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने सरकारको विश्वास छ।




