काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले वित्तीय प्रणालीको पारदर्शिता र अनुशासन सुनिश्चित गर्न ‘एएमएल/सीएफटी’ सम्बन्धी एकदिने तालिम सम्पन्न गरेको छ। तालिम २०७९ वैशाख १८ गते काठमाडौंको होटल यल्लो प्यागोडामा सम्पन्न भएको हो।
उक्त तालिममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी लगायत बागमती प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, तथा उपत्यकाभित्रका शाखा कार्यालयका अन्डरराइटिङ तथा क्लेम विभागका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा एएमएलरसीएफटी क्षेत्रमा विशेषज्ञका रूपमा डा. हरि कुमार नेपाल र पदम सोडारीले प्रशिक्षण दिएका थिए। प्रशिक्षकद्वयले हालको कानुनी र नियामक संरचना, कम्पनीले पालना गर्नुपर्ने अनिवार्य प्रक्रिया, र जोखिम मूल्यांकन प्रणालीका विषयमा विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा बोल्दै सीईओ श्रेष्ठले हरेक कर्मचारीले नियामक निकायको निर्देशन, प्रचलित कानुन तथा कम्पनीका नीति–नियमको पूर्ण पालना गर्दै उच्चस्तरको ग्राहक सेवा प्रदान गर्नुपर्नेमा जोड दिए। उनले कम्पनीको नीति अनुरूप ‘ग्राहक पहिचान प्रक्रिया’, निगरानी प्रणाली, तथा जोखिम न्यूनिकरण संयन्त्रलाई दैनिक कामकाजमा प्रभावकारी ढंगले कार्यान्वयन गर्न आग्रह गरे।
त्यसैगरी, नायव सीईओ रेग्मीले सबै विभागीय तथा शाखा प्रमुखहरूलाई कर्मचारीमार्फत कानुनी दायित्व पालनामा कुनै कमी हुन नदिन स्पष्ट निर्देशन दिए।




