काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सत्तारूढ दलहरूले संयुक्त रूपमा रणनीतिक सुझाव पेश गरेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आर्थिक, सामाजिक र राजनीतिक प्राथमिकताहरूबारे गहन छलफल भएको हो।
बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नीति तथा कार्यक्रमको मस्यौदालाई जनअपेक्षा अनुरूप बनाउन गठबन्धनका दलहरूले महत्वपूर्ण सुझाव दिएको जानकारी गराए।
उनका अनुसार छलफलमा लोकतन्त्रलाई थप सुदृढ पार्ने र त्यसविरुद्ध भइरहेका आन्तरिक तथा बाह्य चुनौतीहरूलाई सामूहिक ढंगले सामना गर्ने आवश्यकता पनि उठाइएको छ।
ज्ञवालीले आगामी वर्षको नीति तथा कार्यक्रम युवामैत्री हुनुपर्नेमा जोड दिँदै उद्यमशीलता, सीप विकास, स्टार्टअप प्रवर्द्धन र व्यावसायिक योजना लागू गर्न सुझावहरू प्रस्तुत भएको बताए। साथै, बजार संरक्षण र रोजगारी सिर्जनाका लागि समन्वित योजना ल्याउनुपर्ने धारणा व्यक्त भएको उनले उल्लेख गरे।
बैठकमा सरकारको खर्च क्षमतामा सुधार, अनावश्यक खर्च नियन्त्रण, सुशासनको प्रभावकारी कार्यान्वयन, तथा सरकारी कार्यसम्पादनमा दक्षता वृद्धि गर्नुपर्ने विषयहरू पनि प्राथमिकतामा परेका छन्।
त्यस्तै, बसाईंसराइ नियन्त्रणका लागि पहाडी क्षेत्र लक्षित कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने सुझावहरू आएको जानकारी दिँदै ज्ञवालीले विदेश नीतिको सन्तुलित कार्यान्वयन र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा समेत गठबन्धन गम्भीर रहेको बताए।
सत्तारूढ दलहरूको धारणा अनुसार, नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतभन्दा फरक, ठोस र परिणाममुखी हुनु आवश्यक छ। ‘यसपटकको नीति कार्यक्रममा ठूला र ठोस उपलब्धि हुने, ब्रेकथ्रु हुने खालको प्रयास गरिनुपर्छ भन्ने साझा समझदारी बनेको छ,’ ज्ञवालीले भने।




