दाउन्नेमा वैशाख ३१ सम्म राति सवारी आवागमन बन्द, सडक विस्तार कार्य तीव्र

काठमाडौं । नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमनमा रोक थप गरिएको छ। अब आगामी वैशाख ३१ गतेसम्म प्रत्येक रात ११ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म सवारी सञ्चालन बन्द रहनेछ।

यसअघि वैशाख १५ गतेसम्म मात्र आवागमन रोकिएकोमा काम नसकिएको कारण यो समय थपिएको हो। प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार, भित्तातर्फको कटिङ कार्य तथा अन्य निर्माणकार्य वर्षाअघि सक्नुपर्ने भएकाले रातको समयमा आवागमन बन्द गरेर कामलाई तीव्रता दिइएको हो।

दाउन्ने क्षेत्रमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणजस्ता कार्यहरू अहिले तीव्र गतिमा भइरहेका छन्। पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार, यी कार्यलाई शीघ्र सम्पन्न गर्न रातको समय सदुपयोग भइरहेको छ।

नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरमध्ये गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर सडक विस्तार भइरहेको छ। विशेष गरी जोखिमयुक्त मानिने दाउन्नेको १४ किलोमिटर क्षेत्रमा अहिले तीन लेनको सडक बनाइँदैछ।

१७ अर्ब रुपैयाँ लागतमा निर्माणको जिम्मा पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले काम गरिरहेको छ। तर निर्धारित समयमै काम पूरा गर्न नसकेपछि तीनपटक म्याद थपिइसकेको छ। अहिले थपिएको अन्तिम म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ। यात्रु तथा सवारी चालकहरूलाई रातको समयमा वैकल्पिक व्यवस्था अपनाउन अनुरोध गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री