देशभर आंशिक बदली, काठमाडौंमा दिउँसोपछि हल्का वर्षाको सम्भावना

काठमाडौं । आज सोमबारको तुलनामा वर्षा केही कम हुने मौसमविद्हरूले बताएका छन्। यद्यपि देशका विभिन्न भूभागमा अझै पनि वर्षाको सम्भावना कायमै रहेको छ।

मौसमविद् गोविन्द झाले बताएअनुसार, बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव केही घटेकाले वर्षा पनि घट्ने अनुमान गरिएको हो। तर, पश्चिमी र स्थानीय वायु सक्रिय भएकाले देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ।

काठमाडौं उपत्यकामा दिनभर आंशिक बदली रहनेछ भने अपराह्न २ बजेदेखि ६ बजेसम्म मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। झाका अनुसार, भोलि मंगलबार भने आजभन्दा धेरै वर्षाको सम्भावना काठमाडौंमा रहनेछ, किनकि भोलिसम्म बंगालको खाडीबाट थप जलवाष्पयुक्त हावा भित्रिनेछ।

पश्चिम नेपालमा पनि वर्षा सर्नेछ। अहिलेसम्म पूर्व र मध्य तराईमा केन्द्रित रहेको वर्षा भोलिबाट कर्णाली र सुदूरपश्चिम प्रदेशसम्म फैलनेछ।

आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्य सफा रहनेछ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ। साथै, यी प्रदेशका हिमाली भेगमा केही स्थानमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

रातिको समयमा पनि कोसी र मधेस प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्यत्र मौसम मुख्यतः सफा रहनेछ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम विभागले जानकारी दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप