कास्की । अन्नपूर्ण गाउँपालिका–५ स्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्गमा काम गर्दै गरेका दुई मजदुरको चट्याङ लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा संखुवासभाको सिलिचुङ गाउँपालिका–२ निवासी भरतकुमार राई र महेश राई रहेको स्थानीयहरूले बताएका छन्।
पदमार्ग निर्माण समितिका अध्यक्ष तथा होटल व्यवसायी राजमान गुरुङका अनुसार आइतबार दिउँसो परेको भीषण चट्याङले ती दुई मजदुरको ज्यान लिएको हो। सो दिनबाट पदमार्गमा सिढी जडान, रेलिङ स्थापनासहितको स्तरोन्नतीको काम सुरु गरिएको थियो।
पर्यटन बोर्ड गण्डकी र अन्नपूर्ण गाउँपालिकाको १८ लाख रुपैयाँ सहयोगमा पदमार्ग स्तरोन्नती भइरहेको हो। गुरुङले असिनापानी र चट्याङसँगै सो क्षेत्रमा हिमपातसमेत भएको जानकारी दिएका छन्। समुद्री सतहबाट ३८०० मिटर उचाइमा रहेको क्षेत्रमा हिमपातका कारण शव निकालन समेत कठिनाइ भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्त शर्माले चट्याङले मजदुरहरूको मृत्यु भएको घटनाबारे जानकारी आएको पुष्टि गरेका छन्। घटनाको अनुसन्धान तथा उद्दारका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको उनले जानकारी दिए।




