समाचार सङ्कलनका क्रममा घाइते पत्रकार सविना कार्कीप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार सङ्कलनका क्रममा घाइते भएपछि नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै उक्त घटनाले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमाथि गम्भीर आघात पुगेको बताएका छन्।

आज काठमाडौँको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको थियो। सो क्रममा समाचार सङ्कलन गरिरहेकी कार्की प्रहरीको पानीको फोहोरा सिधै आँखामा परेपछि घाइते भएकी हुन्।

घटनापछि उनलाई सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।

महासङ्घले एक विज्ञप्ति मार्फत नागरिकलाई सुसूचित गराउने कर्तव्यमा सक्रिय पत्रकारमाथि भएको प्रहरी आक्रमणलाई अत्यन्त निन्दनीय र खेदजनक भनेको छ। साथै महासङ्घले घाइते कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गर्न, दोषीमाथि कानुनी कारबाही चाल्न र घाइते पत्रकारको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री