काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमाथि तीव्र आलोचना गर्दै नैतिक वैधता गुमाइसकेको आरोप लगाएको छ।
बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारको अस्तित्व औचित्यहीन भइसकेको बताए।
“यो सरकार असफल भइसकेको छ,” उनले भने, “अब यसको हातमा देशको बागडोर रहनु जनताको अपमान हो। एक दिन पनि सत्तामा रहने नैतिक अधिकार ओलीसँग छैन।”
सापकोटाले वर्तमान कांग्रेस–एमाले गठबन्धनलाई “अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत” भन्दै आरोप लगाए कि यो सरकारले जनहितमा एउटा पनि उल्लेखनीय काम गर्न सकेको छैन।
उनको आरोप अनुसार, प्रचण्ड नेतृत्वको सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानलाई वर्तमान सरकारले रोकेको छ, र सुशासन स्थापनाका लागि काम गरिरहेका ईमानदार अधिकारीहरूलाई उल्टै दण्डित गर्ने क्रम चलिरहेको छ।
माओवादी केन्द्रले सरकारलाई नैतिक तथा राजनीतिक हिसाबले असफल भइसकेको ठहर गर्दै अब जनताको हितमा नयाँ विकल्प आवश्यक भएको सन्देश दिएको छ।



