शिक्षक महासंघको कडा अडान- कक्षा १२ को परीक्षामा कुनै हालतमा सहभागी हुँदैनौं

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा प्रक्रिया बहिष्कार गर्ने निर्णयलाई पुनः स्पष्ट पार्दै कुनै पनि हालतमा परीक्षामा सहभागी नहुने अडान दोहोर्‍याएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालनमा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूमाथि राष्ट्रिय परीक्षा बोर्ड तथा जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूबाट दबाब र धम्की आइरहेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘परीक्षाको प्रक्रियामा सामेल हुन दबाब आएको कुराप्रति हाम्रो ध्यानाकर्षण भएको छ । विगत २१ दिनदेखि काठमाडौंमा व्यापक सहभागितासहित जारी शैक्षिक आन्दोलनलाई अझ सशक्त बनाउँदै शिक्षक, विद्यार्थी र कर्मचारीमैत्री शिक्षा ऐनको मागसहित परीक्षा प्रक्रियाबाट टाढा रहने निर्णयमा हामी दृढ छौं ।’

महासंघले सबै प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीहरूलाई परीक्षासम्बन्धी कुनै पनि कार्यमा नजाने आग्रह गर्दै आन्दोलनलाई प्राथमिकतामा राख्न आह्वान गरेको छ । त्यससँगै, सबै परीक्षा केन्द्राध्यक्षहरूलाई काठमाडौंमा चलिरहेको शैक्षिक आन्दोलनमा सक्रिय रूपमा सहभागी हुन पनि महासंघले अनुरोध गरेको छ ।

शिक्षा ऐन जारी गर्ने मागसहित चैत २० गतेदेखि सडकमा उत्रिएको शिक्षक आन्दोलन अझ चर्किँदै गएको छ, र कक्षा १२ को परीक्षा प्रक्रिया थप अन्योलमा परेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री