म शिक्षामन्त्री बन्ने चर्चा भ्रामक, विज्ञता र रूचि दुवै छैन : अञ्जान शाक्य

काठमाडौं । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले शिक्षा मन्त्रालयप्रति कुनै रुचि वा विज्ञता नरहेको स्पष्ट पार्दै आफूमाथि गरिएको प्रचारप्रति आपत्ति जनाएकी छन् ।

शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएसँगै नयाँ मन्त्रीको चर्चा चलिरहेको छ । त्यसक्रममा नेकपा एमाले नेतृ शाक्यको नाम पनि सम्भावित शिक्षा मन्त्रीको रूपमा सञ्चारमाध्यमहरूमा सार्वजनिक भएको थियो । तर, शाक्यले ती खबरहरू भ्रामक र कपोलकल्पित भएको बताउँदै सामाजिक सञ्जालमार्फत स्पष्टोक्ति दिएकी हुन् ।

‘म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर अञ्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो,’ फेसबुकमार्फत उनले लेखेकी छन्, ‘यस्ता प्रचारले मेरा शुभचिन्तक र आफन्तहरूमा भ्रम सिर्जना हुन सक्ने भएकोले केही स्पष्ट पार्न आवश्यक ठानेकी हुँ ।’

शाक्य हालसालै अन्तर संसदीय संघको दिगो विकास स्थायी समितिमा एसिया-प्रशान्त क्षेत्रबाट निर्वाचित भएकी छन् । उनले उक्त जिम्मेवारीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन सहयोग पुगेको विश्वास व्यक्त गरेकी छन् ।

शाक्य राष्ट्रिय सभामा विज्ञ सदस्यका रूपमा कानुन निर्माणमा सक्रिय रहेको बताउँछिन् । मन्त्री पद स्वीकार गर्दा हालका जिम्मेवारीबाट विमुख हुने भएकाले आफू इच्छुक नरहेको उनको भनाइ छ । ‘ अहिले तुरुन्तै मन्त्री भएर यी जिम्मेवारीबाट विमुख हुनुहुन्न भन्नेमा म प्रतिबद्ध छु,’ उनले स्पष्ट पारेकी छन् ।

शाक्यले केही व्यक्तिहरूले पूर्वाग्रही दृष्टिकोणले आफूलाई शिक्षा क्षेत्रको विवादमा मुछ्न खोजेको आशंका पनि व्यक्त गरेकी छन् । साथै, यस्ता प्रचारबाजीमा नलाग्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री