काठमाडौं । शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वर सडक खण्डमा प्रदर्शनको क्रममा शिक्षकहरूविरुद्ध नाराबाजी गर्ने व्यक्ति पक्राउ गरेका हुन्।
शिक्षकहरूविरुद्ध लगातार नाराबाजी गरेपछि ती व्यक्तिलाई शिक्षकहरूले नै घेरा हालेर नियन्त्रणमा लिएका हुन् । लगत्तै ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाएको नेपाल शिक्षक महासंघले जनाएको छ। उनीलाई केही शिक्षकहरूले लछारपछार समेत पारेका थिए।
शिक्षकहरूको आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी गरेका व्यक्तिलाई शिक्षकहरूले कुटपिट गरेका थिए। शिक्षकहरूले लछारपछार गर्दा उनको लुगा समेत च्यातिएको छ । प्रहरीले घेरा हालेर नियन्त्रणमा लिइसकेपछि भने ती व्यक्तिले शिक्षकहरूलाई झम्टिएका थिए ।
काठमाडौंको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडकखण्ड पछिल्ला २० दिनदेखि अशान्त छ । विभिन्न माग राखेर शिक्षकहरु शान्तिपूर्ण आन्दोलनमा होमिए पनि शिक्षकका कारण हरेक दिन लाखौँ व्यक्तिहरुले दुःख पाइरहेका छन्। सरकारसँग विभिन्न माग राखेर आन्दोलित शिक्षकहरु आफ्ना माग पूरा गरेरै छाड्ने र सम्झौतामा नटुङ्ग्याउने नीतिका कारण सरकारसँग वार्ताका लागि पनि तयार भएका छैनन् ।
उनीहरुले यतिबेला अनौपचारिक छलफललाई भने निरन्तरता दिएका छन् । हरेक दिन ‘पिक आवर’मा प्रमुख मार्ग अवरुद्ध हुँदा यसको मारमा विद्यार्थी, कर्मचारी, व्यवसायीलगायतका यात्रु परेका छन् ।




