काठमाडौं । कालीकोटको पलाँता गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेर चार जनाको दुःखद मृत्यु भएको छ । पलाँता गाउँपालिका-९ थीर्पुबाट खाद्यान्न र खुद्रा सामान बोकेर पलाँता-४ छलतर्फ जाँदै गरेको ट्याक्टर पलाँता-२ स्थित बुडाडाँडा नजिकै दुर्घटनामा परेको हो ।
उक्त ट्याक्टरको नम्बर खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जानकारी दिएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा मुगुको खत्याड गाउँपालिका-५ का २५ वर्षीय ट्याक्टर चालक चन्द्र प्रकाश रोकाय, कालीकोटको पलाँता गाउँपालिका-४ का २१ वर्षीय रवीन्द्र विक, ३२ वर्षीया सदु बुढा र पलाँता-५ सल्लीकोटकी २५-२६ वर्षीया अम्बा शाही रहेका छन् । प्रहरीका अनुसार चारै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतका अनुसार ट्याक्टर सडकबाट तल झरेर अप्ठ्यारो भिरमा अड्किएको अवस्थामा भेटिएको थियो भने शवहरू झन्डै २०० मिटर तल फेला परेका थिए । दुर्घटनाको सूचना पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय थीर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको नेतृत्वमा टोली घटनास्थलमा पुगेर आवश्यक कारवाही अघि बढाएको थियो ।




