‘युथ सेलिब्रेसन’मार्फत संगठनात्मक शक्ति देखाउने तयारीमा एमाले

काठमाडौं । पार्टीको आन्तरिक सर्कुलरअनुसार नेकपा (एमाले)ले वैशाख ११ मा मनाइने लोकतन्त्र दिवसलाई विशेष शैलीमा मनाउने तयारी गरेको छ । ‘युथ सेलिब्रेसन’ शीर्षकमा आयोजना गरिने उक्त कार्यक्रमका लागि देशभरिका युवाहरूलाई काठमाडौंमा भेला पार्ने योजना बनाइएको छ ।

कार्यक्रममा सहभागी गराउन देशभरका ६ हजार ७ सय ४३ वडाबाट युवाहरू ल्याइने छ । पहाडी क्षेत्रका प्रत्येक वडाबाट कम्तीमा चार जना युवालाई अनिवार्य रूपमा काठमाडौं पठाउन एमालेको जिल्ला कमिटीहरूलाई निर्देशन दिइएको छ । साथै, जिल्ला र प्रदेश कमिटीमा रहेका ४० वर्ष मुनिका सदस्यहरू सबैलाई पनि उपस्थित गराउन भनिएको छ ।

यात्रा व्यवस्थापनको जिम्मेवारी सम्बन्धित जिल्ला अध्यक्षहरूमाथि दिइएको छ । उनीहरूले युवाहरूलाई काठमाडौं ल्याउने र फर्काउने समन्वय गर्नेछन् ।

बागमती प्रदेशमा २०७९ सालको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा एमालेबाट उम्मेदवार रहेका सबैले कार्यक्रम अनिवार्य रूपमा उपस्थित हुनुपर्ने छ । त्यसैगरी, जनप्रतिनिधि (मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष) हरूको सहभागिता पनि अनिवार्य गराइएको छ ।

पार्टीसँग आबद्ध जनसंगठनका केन्द्रीय सदस्य, महासंघ र घटक संस्थाहरूका सदस्यहरू, सम्पर्क मञ्चमा सक्रिय ४० वर्ष मुनिका सबै तहका कमिटी सदस्यहरूलाई पनि कार्यक्रममा अनिवार्य रूपमा समावेश गरिने छ । यदि कुनै वडाबाट तोकिएको संख्यामा युवा सहभागी हुन नसकेमा, अन्य वडाबाट संख्यात्मक पूर्ति गर्न सकिने व्यवस्था गरिएको छ। यद्यपि, कुल संख्यामा कुनै पनि हालतमा कटौती गर्न नपाइने स्पष्ट गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री