श्रीमानकै योजनामा श्रीमतीको हत्या, ६ आरोपित सार्वजनिक

काठमाडौं । धरानको जंगलमा अर्धनग्न अवस्थामा शव फेला परेको घटनामा संलग्न ६ जनालाई पक्राउ सार्वजनिक गरिएको छ । २५ चैतमा भेटिएको शवको पहिचान ३ दिनपछि ३४ वर्षीया चुनकुमारी दाहालको रूपमा पुष्टि भएको थियो ।

धनकुटाको महालक्ष्मी नगरपालिका-२ स्थायी घर भइ हाल इटहरी उपमहानगरपालिका-२ मा बसोबास गर्दै आएकी चुनकुमारीको शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको थियो । अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीले ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा मृतकका श्रीमान् ३१ वर्षीय प्रेमबहादुर बुढाथोकी, उनका सहोदर भाइ २९ वर्षीय ढकेन्द्र बुढाथोकी, ढकेन्द्रकी पत्नी २५ वर्षीया श्रृष्टि बुढाथोकी, मृतककी बहिनीका श्रीमान् ३६ वर्षीय योगेन्द्र गौतम, योगेन्द्रकी श्रीमती २८ वर्षीया डेनु गौतम र ४० वर्षीय केशवराज दाहाल छन् ।

एसपी सुमनकुमार तिम्सिनाका अनुसार, घटनाको मुख्य योजनाकार मृतकका श्रीमान् प्रेमबहादुर हुन्, जो हाल दक्षिण कोरियामा बस्दै आएका थिए । प्रेमबहादुर गत मंसिरमा नेपाल आएर माघमा पुनः कोरिया फर्किएका थिए । अनुसन्धान अनुसार, श्रीमान र श्रीमतीबीचको मनमुटाव, शंका र आर्थिक प्रलोभनले घटनालाई जन्म दिएको हो ।

प्रेमबहादुरले कोरियाबाटै योजना बनाइ आफ्ना भाइ, ज्वाइँ र अन्य निकट आफन्तहरूलाई संलग्न गराएका थिए । श्रीमतीप्रति अविश्वास र रिसको कारणले उनले यस्तो क्रूर योजना बनाएको देखिएको छ ।

हत्या कसरी भयो ?
अनुसन्धान अनुसार, योगेन्द्र गौतमले चुनकुमारीलाई आफन्तकहाँ जानुपर्ने बहानामा मोटरसाइकलमा जंगलसम्म लगेका थिए । जंगल पुगेपछि बाटो हराएको नाटक गर्दै उनी खोलातिर लगे र सोही स्थानमा हत्या भएको थियो । हत्या गर्न मृतकले बोकेको झोलाको फिताको प्रयोग भएको छ ।

घटनामा तीनवटा मोटरसाइकल प्रयोग भएको खुलेको छ- एक योगेन्द्र, अर्को ढकेन्द्र र तेस्रो भारतको आसाम राज्यका फरार राजु थापा मगरले चलाएका थिए । राजु थापा श्रृष्टिका फुपूका छोरा भएको खुलेको छ र हाल फरार छन् ।

पोस्टमार्टम रिपोर्ट: कुटपिट गरेर हत्या
शव अर्धनग्न अवस्थामा फेला परे पनि पोस्टमार्टम रिपोर्ट अनुसार कुटपिटबाट हत्या गरिएको पुष्टि भएको छ । घटनामा यौन दुर्व्यवहार भएको पुष्टि भने हालसम्म भएको छैन । प्रहरीले भने अझै विभिन्न कोणबाट अनुसन्धान जारी राखेको जनाएको छ । पक्राउ परेकामाथि जिल्ला अदालत सुनसरीबाट आठ दिनको म्याद थपिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री