काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीको प्रदर्शनको घटना मानव अधिकारको गम्भीर उल्लंघन भएको संसदीय समितिले निष्कर्ष निकालेको छ।प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले उक्त प्रदर्शनमा मानव अधिकार उल्लंघनका विषयमाथि गृहमन्त्री रमेश लेखक, मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी लगायतका पदाधिकारीसँगको छलफलपछि यस्तो निष्कर्ष निकालेको हो ।
चैत १५ मा काठमाडौंको तीनकुने क्षेत्रको प्रदर्शनमा एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजक र कीर्तिपूर नगरपालिका ४ का सविन महर्जनको मृत्यु भएको थियो भने ५० जना भन्दा बढीको संख्यामा घाइते भएका थिए । उक्त प्रदर्शनबाट सार्वजनिक सम्पति (सरकारी गाडी) अन्य सम्पत्तिमा आगजनी तथा तोडफोड र विभिन्न व्यक्तिका निजी सम्पत्तिमा क्षति, विभिन्न पार्टी कार्यालय, सञ्चार माध्यम लगायतमा भएको आगजनी, तोडफोड भएका थिए ।





