नागरिकको अपेक्षाअनुसार काम गर्न सकेन : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार जनताका अपेक्षा अनुरूप काम गर्न असफल भएको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दुई प्रमुख दल मिलेर बनाएको सरकारले पनि आवश्यक सुधार र परिवर्तनको काममा गति लिन नसकेको गुनासो गरे।

थापाले आफूहरुले संविधान संशोधन, विकास निर्माण र सुशासन सुधारका क्षेत्रमा तत्काल काम थाल्ने अपेक्षा राखेको बताए। “दुई ठूला पार्टी मिलेर सरकार बनाउँदा हामीले ठानेका थियौं—अब संविधानमा आवश्यक संशोधन हुन्छ, गभर्नेन्समा सुधार ल्याइन्छ,” उनले भने, “म व्यक्तिगत रूपमा सरकारमा बसेर भूमिका नलिँदा पनि सरकार सफल होस् भन्ने चाहनामा काम गरिरहेको छु। आलोचना झेल्न, जोखिम मोल्न तयार छु। अब परिणाम देखिनुपर्छ, जवाफदेही हुनुपर्छ।”

सरकारले प्रारम्भिक चरणमा केही उत्साह देखाएको भए पनि त्यो गति कायम राख्न नसकेको उनको धारणा छ। “देशलाई अहिले ‘कंकड’ जत्तिकै गति चाहिएको बेला सरकार भने ‘ट्याक्टर’को स्पिडमा चलिरहेको छ,” थापाको टिप्पणी थियो, “जनताको अपेक्षा अनुसारको गति पक्रन सकेको छैन। आज एउटा कुरा, भोलि अर्को कुरा, यस्तो ढंगले परिणाममुखी काम सम्भव छैन।”

उनले सुशासन, पारदर्शिता, आर्थिक सुधार लगायतका क्षेत्रमा ठोस कदम चाल्न सरकारलाई सुझावसमेत दिए। “अब एउटा स्पष्ट माहोल बनाउनुपर्छ—यहाँ सुधार हुँदैछ, विश्वास बढ्दैछ भन्ने,” उनले जोड दिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री