काठमाडौँ । पछिल्लो समय जाजरकोट जिल्लामा भूकम्पको सक्रियता बढिरहेको देखिन्छ। सोमबार राति ९:३१ बजे जाजरकोटको कुशे गाउँपालिका–५, पैंक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । हालसम्म यस भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।
यसअघि, चैत २१ गते साँझ सोही क्षेत्रमा लगातार दुई पटक भूकम्प गएका थिए। पहिलो ५.२ र दोस्रो ५.५ म्याग्निच्युडका ती भूकम्पले केही घरहरूमा सामान्य क्षति पुर्याएको थियो ।
त्यसैगरी, चैत २० गते दार्चुलामा ४.० म्याग्निच्युडको र चैत १२ गते हुम्लामा ४.५ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।
देशका पहाडी भू-भागहरूमा पटक–पटक भूकम्प आइरहेका कारण सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । लगातार भइरहेका यी भूकम्पहरूले त्यहाँका स्थानीय बासिन्दामा त्रास पनि बढाएको छ ।



