नव वर्ष २०८२ प्रारम्भ

काठमाडौं । विक्रम संवत् २०८२ को सूर्योदयसँगै देशभर नेपालीहरूले नयाँ वर्षको स्वागत उल्लासका साथ गरेका छन्। आजको दिनले केवल पात्रोको पाना पल्टाइदिएको होइन, यसले इतिहास, खगोलशास्त्र, र संस्कृतिको समिश्रणसमेत बोकेको छ।

आज सूर्यले मीन राशिको यात्रा सम्पन्न गरी मेष राशिमा प्रवेश गर्ने गर्छ। यही खगोलीय घटना ‘मेष सङ्क्रान्ति’ वा ‘वैशाख सङ्क्रान्ति’ को रुपमा चिनिन्छ, जसलाई नयाँ वर्षको आरम्भ पनि मानिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार विक्रम संवत् सूर्यको गति अनुसार चल्ने शाश्वत पात्रो प्रणाली हो। “विक्रम संवत् आदित्य सूर्यसँग सम्बन्धित संवत् हो, त्यसैले यसलाई विक्रमादित्य संवत् पनि भनिन्छ,” भट्टराई भन्छन्।

यो संवत्का विशेषता के छन् त? वैज्ञानिक दृष्टिले हेर्दा सूर्य जब मेष राशिमा प्रवेश गर्छ, त्यहीबेलादेखि नयाँ वर्षको आरम्भ मानिन्छ। सौरमान र चान्द्रमानको सन्तुलनमा आधारित यो पात्रो प्रणालीले अन्य पात्रो प्रणालीका विशेषताहरुलाई समेत समेटेको छ।

वैदिक परम्पराअनुसार ६० संवत्सरहरू घुम्दै आएका छन्। हाल सुरु भएको संवत्सर ‘सिद्धार्थी’ ५३ औं संवत्सर हो, जुन चैत्र शुक्ल प्रतिपदादेखि अर्थात् चैत १७ गतेबाट सुरु भइसकेको हो। यसरी सौरमान अनुसार आज (वैशाख १) नयाँ वर्ष हो भने चान्द्रमान अनुसार नयाँ संवत्सर केही अघि नै सुरु भइसकेको हो।

नयाँ वर्षलाई अवसरको रूपमा प्रयोग गर्दै नागरिकहरू पुराना वर्षका सफलताहरूको मूल्याङ्कन र असफलताको पुनरावृत्ति रोक्न संकल्प गर्छन्। आजको दिन बिहानै उठेर नुहाउने, घर सफा गर्ने, मठमन्दिरमा पूजा आराधना गर्ने, स्वादिष्ट भोजन गर्ने र आफन्तजन, मित्रजनसँग शुभकामना साटासाट गर्ने परम्परा रही आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री