काठमाडौं । पछिल्ला केही दिनदेखि सक्रिय रहेको वर्षा प्रणाली शनिबारदेखि कमजोर हुँदै जाने मौसमविद्हरूले बताएका छन् । बुधबार साँझदेखि देशका धेरैजसो स्थानमा चट्याङ, हावाहुरी र वर्षा गराइरहेको प्रणाली शनिबारदेखि खस्कने देखिएको हो ।
वर्षाका कारण काठमाडौं उपत्यकासहितका प्रमुख शहरहरूमा देखिएको बाक्लो तुवाँलो हटेको छ । प्रदूषण पनि उल्लेखनीय रूपमा घटेको छ । एक साता अगाडि विश्वका सबैभन्दा प्रदूषित शहरहरूमा अग्रस्थानमा रहेको काठमाडौं बिहीबार नवौँ स्थानमा झरेको छ। हालको एक्युआई ११६ रहेको छ, जुन अघिल्लो अवस्थाको तुलनामा झण्डै आधा हो ।
यद्यपि, शनिबारसम्म आकाशमा बादल लाग्ने र केही स्थानमा वर्षा भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार शुक्रबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा पानी पर्ने सम्भावना छ भने अन्य ठाउँहरूमा छिटफुट वर्षा हुन सक्छ ।
शनिबारबाट भने मौसममा सुधार आउने देखिएको छ । देशका धेरैजसो स्थानमा मौसम खुलेको अवस्था रहनेछ, तर कोशीको पहाडी क्षेत्र र अन्य केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।



