कांग्रेसको महासमिति बैठक : आज विधान संशोधन प्रस्ताव पेश हुने

काठमाडाैँ । नेपाली कांग्रेसको महासमिति बैठकमा आज विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ। विधान संशोधनको मस्यौदामाथि केन्द्रीय कार्यसमितिमा सहमति जुट्न नसकेपछि यसअघिनै पेश हुन सकेको थिएन्। महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको विधान मस्यौदा समितिले तयार पारेको प्रतिवेदन आज बस्ने केन्द्रीय समितिले अनुमोदन गरेपछि छलफलका लागि आजै महासमिति बैठकमा पेश गरिने छ।

आइतबार सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पदाधिकारीका विषयमा सहमति जुटाएको छ। विधानलाई सहमतिमा टुंग्याउँन गठित समितिका सदस्यहरुको अबेरसम्म बसेको बैठकले एकजना सभापति, दुईजना उपसभापति, दुईजना महामन्त्री, दुईजना सहमहामन्त्री र एकजना कोषाध्यक्ष राख्ने सहमति जुटाएको हो।

विधानलाई सहमतिमा पुर्याउँने समितिमा सभापति शेरबहादुर देउवाका तर्फबाट उपसभापति विमलेन्द्र निधि, बरिष्ठ नेता रामचन्द्र पौडेलका तर्फबाट अर्जुननरसिं केसी, बिधान मस्यौदा समितिका तर्फबाट संयोजक समेत रहेका महामन्त्री पूर्णबहादुर खड्का तथा सदस्यद्वय मीनेन्द्र रिजाल र रमेश लेखक छन्।

यो समितिले बिधानमा सहमति जुटाउनका लागि पछिल्लो ३ दिनदेखि लगातार छलफल गर्दै आएको थियो। छलफलबारे उपसभापति निधि, महामन्त्री खड्का र नेता लेखकले सभापति देउवालाई जानकारी गराएका थिए भने केसी र रिजालले बरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत लगायतका नेताहरुलाई अबगत गराउँदै आएका थिए।

सभापति देउवाका तर्फबाट बैठकमा सहभागी नेताहरुले पदाधिकारी संख्या यथावत कायम राख्ने प्रस्ताब गरेका थिए भने बरिष्ठ नेता पौडलको तर्फबाट सहभागी नेताहरुले उपसभापति, महामन्त्री र सहमहामन्त्री तीन तीन जना राख्नुपर्ने प्रस्ताब गरेका थिए। दुबै तर्फका नेताहरुले बीचको बाटो खोज्दै तीनवटै पदमा दुई दुई जना पदाधिकारी राख्ने सहमति गरेका हुन्।

पदाधिकारी संख्यामा सहमति जुटेको भए पनि कुन मोडलमा चयन गर्ने भन्नेमा अझै सहमति जुट्न सकेको छैन। सभापति पक्षीय नेताहरु एक एक जना निर्बाचित र एक एक जना मनोनितको पक्षमा छन् भने पौडेल पक्षीय नेताहरु सबै पदाधिकारी निर्बाचनमार्फत ल्याउनु पर्ने पक्षमा छन्। देउवा पक्षीय नेताहरुको तर्क अनुसार निर्बाचित सदस्यमध्येबाट कार्य समितिले ल्याउने भएकोले यो पनि निर्बाचनको एउटा मोडल हो।

यसैगरी बिधानलाई सहमतिमा पुर्याउन गठित सो समितिले पार्टीमा क्रियाशील र साधारण गरी दुई किसिमको सदस्यता रहने, वडा तहबाट न्यूनतम १५ जना क्षेत्रीय प्रतिनिधि हुने, जिल्ला समन्वय समिति नभई जिल्ला कार्य समिति नै हुने, प्रादेशिक निर्बाचन क्षेत्रबाट १७ जनाका दरले प्रतिनिधि रहने तथा संसदीय समितिबाट २५ जना महाधिबेशन प्रतिनिधि रहने बिषयमा सहमति गराएको छ।

सोमबार बस्ने केन्द्रीय कार्य समितिको बैठकले बिधानलाई अन्तिम रुप दिएपछि साँझसम्म महासमिति बैठकमा प्रस्तुत गरिने एक केन्द्रीय सदस्यले बताए। बिधानमा सहमति जुटेर सोमबार साँझसम्म बैठकमा प्रस्तुत गरेपछि महासमिति सदस्यहरुलाई मंगलबार र बुधबार दुईदिन पूरै समय उपलब्ध गराउने तयारी भइरहेको एक नेताले बताए। बैठकमा सहभागी महासमिति सदस्यहरुले दुई दिनसम्म बिधानमा छलफल गर्र्नेछन्। ती नेताको भनाईमा बिधानमा छलफल गर्नका लागि दुई दिनको समय पर्याप्त हुनेछ। महासमिति बैठक ४ गतेसम्म चल्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री