पञ्चकन्या समूहद्वारा एभरेस्ट-लोत्से आरोहणमा आर्थिक सहयोग

काठमाडौं । पितृसत्तात्मक सोचको साङ्लो चिर्दै हिमाल चढ्ने अठोट लिएकी कलाकार र फिटनेस आइकन कविता नेपालीको एभरेस्ट तथा लोत्से (जुम्ल्याहा) हिमाल आरोहण यात्रामा पञ्चकन्या समूहले आर्थिक सहयोग प्रदान गरेको छ।

आगामी २०८१ साल चैत ३० गतेबाट सुरु हुने अभियानमा कविता नेपालीले ८ हजार मिटरभन्दा माथिका दुई चुचुरो चढ्ने लक्ष्य लिएकी छन्। पञ्चकन्याले यो साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला सशक्तीकरण र प्रेरणादायी यात्राहरूको समर्थनमा उठाएको अर्को महत्वपूर्ण कदम हो।

कविता नेपाली सन् २०१८ मा अन्तर्राष्ट्रिय डान्स शो ‘बुगी वुगी’ को फाइनलसम्म पुगेकी, चिनियाँ मार्सल आर्टमा निपुण र फिटनेसको क्षेत्रमा परिचित अनुहार हुन्। अब उनले हिमाल आरोहणमार्फत नेपाली महिलाको साहस, आत्मबल र अन्तर्राष्ट्रिय स्तरमा नेपाली पहिचानलाई अगाडि बढाउने सपना बोकेकी छन्।

पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठले कवितालाई कलाकार मात्र नभई राष्ट्रिय गौरवको प्रतीकका रूपमा हेरेको स्पष्ट पार्दै भने, “उनीजस्तो महिलाको साथ दिन पाउनु हाम्रो गौरव हो।”

यसअघि सन् २०१३ मा पञ्चकन्याले माउन्ट किलिमान्जारो आरोहण गर्ने सेभेन समिट्स टोलीलाई समर्थन गरेको थियो। यस्तै, निशा अधिकारी, डा. प्रीति भुसाल र पाँच महिला पत्रकारहरूले आरोहणमार्फत समाजमा गहिरो सन्देश दिएका थिए। पञ्चकन्याले महिला सशक्तीकरणलाई आफ्नो सामाजिक जिम्मेवारीको मूल क्षेत्र मान्दै शिक्षा, वातावरण, स्वास्थ्य, सरसफाइ र सीप विकासमा कार्य गर्दै आएको छ। कम्पनीको भनाइमा कविता नेपालीको यात्रा केवल चुचुरो चुम्ने यात्रा मात्र होइन, विश्वभरका महिलाका लागि प्रेरणा बनोस् भन्ने विश्वास हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री