काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले हालैको तीनकुने घटनाको सिलसिलामा मुख्य योजनाकार दुर्गा प्रसाईंको खोजीका लागि प्रहरी सक्रिय रूपमा परिचालनमा रहेको बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे जानकारी दिँदै आईजीपी थापाले घटनामा संलग्न भएको आरोपमा राज्यविरुद्धको अपराध अन्तर्गत २० जना र आपराधिक उपद्रव अन्तर्गत ५८ जनाविरुद्ध मुद्दा दायर गरिएको जानकारी गराए।
बैठकमा समितिका सभापति रामहरी खतिवडाले “कुल त समातियो, मुल किन समातिएन?” भनी सोधेका प्रश्नमा जवाफ दिँदै थापाले दुर्गा प्रसाईंलाई पक्राउ गर्न गृह मन्त्रालयसँगको समन्वयमा प्रयास जारी रहेको बताए। उनका अनुसार, “जो अपराध गर्छ, उसले सजिलैसँग आत्मसमर्पण गर्दैन। हामी १५ गते रातभरी प्रसाईंको खोजीमा लागेको थियौं। उनले चरणबद्ध रूपमा भाग्ने रणनीति अपनाएको देखिएको छ।”
थापाले घटनाको दिन प्रविधि र मानव स्रोत प्रयोग गरी प्रसाईंको खोजी गरिएको र उनका विरुद्ध जाहेरी समेत दर्ता भइसकेको बताए।
उनका अनुसार, आन्दोलन शान्तिपूर्ण हुने भनिएपछि त्यसअनुसारको सुरक्षा योजना बनाइएको थियो। तर, ३९ भन्दा बढी समूहबाट एकै पटक तोडफोड, आगजनी र अराजक गतिविधि सुरु भएपछि परिस्थितिलाई नियन्त्रण गर्न कठिन भएको उनको भनाइ छ।
आईजीपी थापाले तीनकुनेमा म्याद नाघेको अश्रुग्यास प्रयोग नभएको दाबी पनि गरे। सभापति खतिवडाले म्याद सकिएका अश्रुग्यास प्रयोग गरिएको भन्ने प्रश्न उठाएपछि थापाले भने, “म्याद सकिएका अश्रुग्यास हामीले प्रयोग गरेका छैनौं। ती नष्ट गरिसकेका छौं। अहिले प्रयोग भएका ग्यास मौज्दातमै रहेका र समयावधि कायम रहेका हुन्।”
यस घटनासम्बन्धी अनुसन्धान अझै जारी रहेको र दोषीलाई कानुनी कारबाहीमा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको प्रहरी प्रमुख थापाले स्पष्ट पारे।




